भारतले नेपालको कुटनीतिक मर्यादामा आँच आउने कार्य गरेको भन्दै अखिल छैठौंद्धारा सरकारको ध्यानाकर्षण

गोपाल प्रसाद भट्टराई
अर्घाखाँची । हुलाकी राजमार्ग उद्घाटन गर्ने बहानामा भारतीय राजदूत रञ्जित रेले सुदुरपश्चिमका विभिन्न जिल्लाहरु भ्रमण गरि कुटनीतिक मर्यादाको खिल्ली उडाएको भन्दै अखिल छैठौंले सरकारको ध्यानाकर्षण गराएको छ ।अखिल छैठौंका केन्द्रिय अध्यक्ष बिमल पोख्रेलले हिजो एक प्रेस बक्तब्य जारी गर्दै नेपालको आन्तरिक मामलामा आंच आउने गरि भारतले आफ्ना गतिबिधि नेपालको भुमिमा बढाउंदै जाँदापनि सरकारले यस्ता गतिबिधि रोक्नुको सट्टा भारतीय राजदूत सहभागी कार्यक्रमा भारतको राष्ट्रिय गानसमेत बजाइएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।
बिज्ञप्तीमा अखिल (छैठौं)ले भारतीय राजदूतको गैरकुटनीतिक गतिविधि रोक लगाउन माग गर्र्दै सरकारले रोक लगाउनुको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सामेल कार्यक्रममा राजदूत रेलाई सहभागी गराएर नेपालको कुटनीतिक मर्यादामा आँच आउने कार्य गरेको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।
साथै हिजो कैलालीमा रन्जित रे सहभागी कार्यक्रममा शान्तिपूर्ण विरोधको क्रममा अखिल (छैठौं)का केन्द्रीय सदस्य उमेश कडेल, कैलाली सहसचिव भानुभक्त आचार्य र कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सापकोटा,नेकपा (एमाले)का दीर्घ जोशी, रामचन्द्र जोशी तथा विरोध कार्यक्रमा सहभागी अनिल आचार्यलाई प्रहरीले गिरफ्तार गरेको भन्दै तुरुन्त रिहाइ गर्न माग गरिएको छ । 
विकासका नाममा भइरहेका विस्तारवादी हस्तक्षेप विरुद्धको आन्दोलनमा एकजुट हुन सम्पूर्ण विद्यार्थीहरुलाई अपील गर्दछौं अखिल छैठौंको बिज्ञप्तीमा भनिएको छ ।