आजका मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडियो सहित

सरकारले स्थानीय निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहिबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न औपचारिक आग्रह गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न आग्रह गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

यसै गरी सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन गरी आवश्यक सुझाव दिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको नेतृत्वमा समिति पनि गठन गरेको छ। खास गरी प्रदेश नम्बर दुई ले आयोगको प्रतिवेदनमाथि आपत्ति जनाएकाले उनीहरुको गुनासोलाई सम्बोधन गर्दै दुई हप्ता भित्र आवश्यक सुझाव दिन समिति गठन गरिएको हो । समितिमा आपूर्ति मन्त्री दिपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य छन्।

मन्त्रिपरिषद बैठकले शिशिर ढुंगानालाई सचिवमा बढुवा गरेको छ। उद्योग मन्त्रालयकी यामकुमारी खतिवडालाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ ।

आजको बैठकले चीनको गोञ्जाओको महावाणिज्य दुतमा सहसचिव रबि भण्डारीलाई पठाउने निर्णय गरेको छ। त्यसै गरी बैठकले तनहूँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्गलमा चीडियाखाना निर्माण गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी आजको बैठकले सबै मन्त्रालयहरुमा पूँजीगत खर्च कम र चालु बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

सेतोपाटीबाट