कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमा भएको वार्तामा संविधान संशोधनलाई पहिला टुंगो लगाएर चुनावको मिति घोषणा गर्ने सहमति भएको कांग्रेस कोषध्यक्ष तथा शान्ती मन्त्री सितादेवी यादवले बताएकी छिन् ।
पहिला संविधान संशोधनलाई टुंगोमा पुर्याउने, त्यसपछि चुनावको मिति घोषणा गर्ने सहमति भएको छ, उनले भनिन् ।
मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुरले ठूला दलको मुखमा संविधान संशोधन भए पनि चाहना चुनावतिरै रहेको भनी आलोचना गरेका थिए । ठाकुरले संविधान संशोधनविना गरिने चुनावले द्वन्द्वलाई निम्ता दिने भन्दै आफ्नो प्राथमिकता के हो भनी स्पष्ट हुने देउवा र कांग्रेस नेताहरुलाई चेतावनी दिए ।
संशोधनमा हाम्रो स्वामित्व हुनेगरी अघि बढ्ने हो भने हामी त सुरुदेखि लचक नै छौं, ठाकुरले भने, नत्र मुद्दा सम्बोधन नगरी अघि बढ्न सरकार खोजेको हो भने हाम्रो बाटो स्पष्ट नै छ ।
स्रोतका अनुसार मोर्चा नेताको कुरा सुनिसकेपछि देउवाले संविधान संशोधनका लागि सम्पूर्ण शक्ति लगाइ हेर्न आग्रह गरेका थिए । तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लका अनुसार देउवाले चुनावको च समेत उच्चारण नगरी संविधान संशोधन नै आफ्नो प्राथमिकता रहेको प्रष्टीकरण दिएका थिए ।
उनले कमल थापा र विजय गच्छदारसमेतलाई सरकारमा समावेश गरेर भए पनि अब संशोधन विधेयक पारित गराउने आश्वासन दिएका थिए । पहिलेको बैठकमा चुनावको मिति तोक्ने भन्नुहुन्थ्यो,आज त्यो पनि भन्नुभएन, शुक्लले बैठकपछि भने, सम्पूर्ण शक्ति लगाएर संविधान संशोधन विधेयक पारित गरी हेरौं भन्नुभएको छ । हेरौं, अब के गर्नुहुन्छ । मोर्चा नेताहरुले फेरि एकपल्ट प्रधानमन्त्री दाहाल र देउवा संशोधनतिर अघि बढ्न तयार देखिएको आफूहरुले पाएको सुनाए ।
मोर्चाका तर्फबाट ठाकुरसहित तमसपा अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टी महासचिव मनीषकुमार सुमन, रामसपा महासचिव केशव झालगायत नेता सहभागी थिए भने कांग्रेसबाट देउवासहित महामन्त्री शशांक कोइराला, नेताहरु विमलेन्द्र निधि, प्रकाशमानसिंह, कृष्ण सिटौला सहभागी थिए ।
मोचासँगको बैठक लगतै कांग्रेसको छुट्टै बैठक बसेको थियो ।
कान्तिपुरबाट