राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ:खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब मुलुकमा सामाजिक क्रान्ति पूरा गर्न राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन्।

नेपाल अध्ययन केन्द्रले यहाँ आज आयोजना गरेको अन्तक्रियामा पूर्वप्रधानमन्त्री खनालले सामाजिक क्रान्ति तथा रुपान्तरणको आधार भनेको लोकतन्त्र, आर्थिक प्रगति, सांस्कृतिक संरक्षण र सन्तुलित विकास नीति हुनुपर्ने बताए।

उनले सामन्तवाद देशबाट उन्मूलन भएको भएपनि केही अवशेष बाँकी रहेको बताउँदै देशको राष्ट्रिय पुँजीलाई बलियो बनाउन सरकारी, निजी र सहकारी क्षेत्रको समन्वयको खाँचो रहेको र त्यसका लागि संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नेपालमा पुँजीवादको चरित्रः कम्युनिष्ट पार्टीमाथि आलोचनात्मक टिप्पणी विषयक कार्यपत्र प्रस्तुत गर्दै देशमा छरिएको पुँजीलाई एकीकृत गरी उद्योग तथा पूर्वाधार विकास निर्माणमा उपयोग गर्नुपर्ने बताए।

उक्त कार्यपत्रमाथि अर्थशास्त्री डा विजय पौडेल, नेकपा संयुक्तका महासचिव सुनिल मानन्धर, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र हरि रोकाले समीक्षा गर्दै सीमित व्यक्तिका पहुँचमा उत्पादनका स्रोत, साधन तथा पुँजी सञ्चय भएकाले देशमा उद्योग फस्टाउन नसकेको विचार व्यक्त गरे। रासस