प्रचण्डले अब चुनाव जित्ने दिन त देख्दिन: योगेश भट्टराई

            २००७ सालदेखि पटक पटक भएका राजनीतिक परिवर्तन कांग्रेसकै कारण असफल

एमाले सचिव योगेश भट्टराईले आफूले हार्ने सुनिश्चित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव घोषणा नगरेको आरोप लगाएका छन् ।

एमाले प्रचार विभागले गरेको ३ नम्बर प्रदेश स्तरीय भेलालाई राजधानीमा बुधबार सम्बोधन गर्दै भट्टराईले दाहालले चुनाव जित्ने आफूले कहिल्यै सम्भावना नदेखेको बताए । प्रचण्डजीले नजित्ने अवस्थासम्म चुनाव नगर्ने रणनीति देखियो, उनको भनाइ थियो, म त उहाँले अब चुनाव जित्ने दिन त देख्दिन, त्यसो भए चुनावै नगर्ने त ?

भट्टराईले दोस्रो संविधानसभामा पनि दाहाललाई मिलाएर चुनाव जिताइदिएको दाबी गरे । यसपालि पनि त्यसै गर्नुपर्छ भने गरौंला, उनको भनाइ थियो, तर चुनाव घोषणा तत्काल गर्नुपर्‍यो ।

प्रधानमन्त्रीले सत्तामा बसेर चुनाव टार्न नमिल्ने बताउँदै उनले चुनाव नगर्न नसक्ने भए सत्ता छाड्न आग्रह गरे । कि चुनाव गर्नुस्, कि सत्ता छाड्नुस्, उनले भने, अब एमाले धेरै धैर्य गर्न सक्दैन ।

भट्टराईले २००७ सालदेखि पटक पटक भएका राजनीतिक परिवर्तन कांग्रेसकै कारण असफल भएको उल्लेख गरे । २०१५ सालमा कांग्रेसले दुई तिहाई बहुमत पाएको थियो, उसलाई के अभाव थियो २००७ सालको परिवर्तन संस्थागत गर्न ?, उनले भने, कांग्रेसको असक्षमताले परिवर्तनहरु संस्थागत हुन सकेनन् । कांग्रेसले तराईमा सीके राउतजस्ता पृथकतवादीलाई मलजल गर्दै आएको उनको आरोप थियो ।

कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सत्तामा बस्नेलाई देशको चिन्ता नरहेको बताइन् । लोकतन्त्र बलियो बनाउन र परिवर्तन संस्थागत गर्न सरकारले चुनाव घोषणा गरेन भने एमाले धैर्य गर्न सक्दैन, उनले भने ।

शाक्यले सरकारले निर्वाचन नगर्ने चलखेल गरेको आरोप लगाइन् ।


भेलाले आसन्न पत्रकार महासंघको निर्वाचनमा संगठनको रणनीतिबारे छलफल गरेको प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।

भेलालाई प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत, चौतारी पूर्वमहासचिव प्रमोद दाहाल, एमाले ललितपुर अध्यक्ष हरिकृष्ण व्यञ्जनकारलगायतले सम्बोधन गरे ।

कार्यक्रममा वत्ताहरुले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियनले गरेको तालाबन्दीको भर्त्सना गरेका छन् । उनीहरुले विधिसम्मत बाटोबाट समाधान खोज्न युनियनको ध्यानाकर्षण गराए ।

कान्तिपुरबाट