राजेन्द्र फुयाल, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीलाई दिएको छ ।
अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा बिहीबार बसेको एमाले स्थायी किमिटीको बैठकले वडा, गाउँ/नगर कमिटीको सिफारिसमा वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी टुंग्याउने अधिकार सम्बन्धित जिल्ला कमिटीहरुलाई दिएको हो । देशभर ६ हजार ६ सय ८० वडा रहेका छन् । सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन तय गरेको छ ।
बैठकले गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुखको उम्मेदवारी तय गर्ने अधिकार भने सम्बन्धित प्रदेश कमिटीलाई दिएको छ । उपमहानगर र महानगरपालिकाका उम्मेदवारको अन्तिम निर्णय भने स्थायी कमिटीले नै गर्नेछ । स्रोतका अनुसार स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने अधिकार समेत स्थानीय कमिटीहरुलाई नै प्रत्यायोजन गरेको छ ।
यसरी वडादेखि छनौट हुादै आएका उम्मेदवारको सूचीमा अन्तिम निर्णय गर्ने अधिकार पाएको कमिटीमा विवाद भए भने स्थायी कमिटीबाटै टुंग्याइनेछ ।
स्थानीय कमिटीले माथिल्लो कमिटीसमक्ष उम्मेदवारी सिफारिस गर्दा आधार र कारणसहित सम्भावित तीनजनाको नाम सिफारिस गर्नुपर्ने एमालेले जनाएको छ ।
कान्तिपुर