नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
पार्टीले शनिबार पालुङटारमा आयोजना गरेको जनसभामा बोल्दै उनले चिन्ह प्राप्तिका लागि संघर्ष गर्ने बताए । चुनाव लड्छु भन्दा भन्दै चिन्ह नदिएर निर्दलीय पञ्चायती व्यवस्था ल्याउन खोजियो, उनले भने, चुनावको पक्षमा छौं, चिन्ह पाएपछि सहभागी हुनेछौं ।
चुनाव जितेर नयाँ शक्ति पार्टी सत्तामा पुगिछाड्ने उनको दाबी थियो । चुनाव जसरी पनि गर्नुपर्छ, तर सत्ताधारीहरुले सार्न खोजिरहेका छन, उनले कार्यकर्ताहरुलाई भने, चुनावको तयारीमा जुट्नु होस ।
नयाँ शक्तिले तराई, पहाड र हिमाल जोडेर राष्ट्रियता जोगाउने भट्टराईले बताए । नयाँ शक्ति चुनाव जितेर देशलाई समृद्ध बनाउने लिगलिगे दौडमा छ, उनले भने, प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीले सत्ताको खेल छाडून् ।
पार्टी निर्वाचन आयोगमा दर्ता भएर पनि चुनाव चिन्ह नदिएको प्रति उनले आक्रोश व्यक्त गरे । भगवान कृष्णको विरुद्ध कंशहरुको हर्कत सुरु भएको छ, प्रचण्ड कंश भए, उनले भने । सत्ताको दुरुपयोग गरेर चुनाव चिन्ह नदिएको उनको भनाई थियो ।
जनसभामा पार्टीका केन्द्रिय नेताहरु देवी ओझा, पासाङ शेर्पा, गंगा चौधरी लगायतले पनि मन्तव्य राखेका थिए ।
कान्तिपुर