
विश्व प्रख्यात भौतिक शास्त्री स्टीफन हकिङ्गले पृथ्वीमा एक सय वर्षपछि मानव जीवन सुरक्षित हुन नसक्ने चेतावनी दिदैं आफ्नो अस्तित्व रक्षाका लागि अन्य ग्रहमा जानुपर्ने बताएका छन् ।
उनले जलवायु परिवर्तन, बढ्दो जनसंख्या र उल्का पिण्डको ठक्करबाट प्रद हुने परिस्थितिका कारण सय वर्षपछि पृथ्वीमा मानव जीवनका लागि ठूलो खतरा हुने चेतावनी दिएका हुन् ।
बीबीसीको डकुमेन्ट्री एक्सपेडिसन न्यू अर्थ मा भौतिक शास्त्री हकिङ्ग र उनका विद्यार्थी क्रिस्टोफ गलफर्डले यस्तो चेतावनी दिएका हुन् । उनीहरु पृथ्वी बाहिर मानव जीवनको सम्भावनाका लागि समेत अन्य ग्रहकोबारे अनुसन्धान गरिरहेका छन् ।
सोही डकुमेन्ट्रीमा उनीहरुले भनेका छन्, मानव जातिलाई बाँच्नु छ भने अन्य कुनै ग्रहमा जीवनको सम्भावना खोज्नु पर्दछ ।
अघिल्लो महिना पनि भौतिक शास्त्री हकिङ्गले चेतावनी दिदैं भनेका थिए, प्रविधिको विकाससँगै मानवको आक्रामकता बढी खतरनाक भइरहेको छ, यही प्रवृत्तिले परमाणु या जैविक युद्धका माध्यमबाट मानवको विनाश गर्न सक्छ । एउटा वैश्विक सरकारले मात्र यसबाट मानिसलाई जोगाउन सक्ने उनको भनाइ थियो ।
स्मरणीय छ, ७५ वर्षीय हकिङ्ग मोटर न्यूरोन नामक रोगको शिकार भएका छन् । सोही रोगका कारण उनी बोल्न सक्दैनन् भने उनको शरीर पनि अशक्त छ । तर इन्टेलद्वारा निर्माण गरिएको विशेष मेसिनको सहायतामा उनले आफ्ना कुरा र आविष्कार विश्वसामू ल्याउने गरेका छन् । (एजेन्सी)