गृहमन्त्रालयका अनुसार विगत एक वर्षयता चट्याङका कारण देशभर १०० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।
मूलत: नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षायामपूर्वको याम ‘प्रि-मनसुन’मा चट्याङ धेरै पर्ने गरेको बताइन्छ।
चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरुले बताएका छन्।
चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु:
१.’चट्याङप्रतिरोधी घर’
घरको माथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआइ पाताले जोडेर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्दा चट्याङबाट जोगिन सक्ने विज्ञ श्रीराम शर्मा बताउँछन्।
२. सावधानी
बिहानको समयमा खेतबारीमा जान तथा घाँसदाउरा बटुल्ने काम गर्न र दिउसो ३ देखि ४ बजेपछिको समय बढी चट्याङ पर्ने भएकाले त्यतिबेला सकेसम्म घरमै रहन विज्ञहरु सुझाव दिन्छन्।
३. उच्चस्थानमा सतर्कता
चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरको नजिक नबस्न र अग्ला रुखमुनि ओत नलाग्न विज्ञहरुको सुझाव छ।
प्रायजसो जमीन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा विशेष सजग रहनुपर्ने उनीहरुको मत छ।
स्रोत बि.बि.सी नेपाली