पहिलो चरणको स्थानीय निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न, ७१ प्रतिशत मत खस्यो

स्थानीय तह अन्तर्गत आइतबार भएको पहिलो चरणको निर्वाचन केही स्थानमा छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । प्रदेश ३, ४ र ६ मा भएको पहिलो चरणको चुनावमा मत हाल्न बिहानैदेखि मतदान केन्द्रमा सर्वससाधारण उत्साहजनक सहभागिता थियो । कान्तिपुरमा समाचार छ । 
७१ प्रतिशतसम्म मतदान भएको छ ।  
मैनालीका अनुसार काभ्रेको नमोबुद्ध र दोलखाको मेलुङमा भने मतदान स्थगित भएको छ । दोलखा, काभ्रे, रामेछाप, हुम्ला, दैलेखमा केही केन्द्रमा केही तनाव भएको छ । अन्य स्थानमा भने चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 
दोलखामा मेलुङमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु र केही घाइते भएका छन् । दोलखाकै बैत्येश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका केही केन्द्रहरुमा बुथ कब्जा भएको आरोप लगोको छ । एमालेले ती स्थानको मतदान स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । 
हुम्लामा कांग्रेसकै  आधिकारिक र बागी उम्मेद्वारबीचको तनावले खार्पुनाथ गाउँपालिकाका केही तनाव भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्‍यो । दैलेखको भैरवी गाउँपालिकामा पनि केही तनाव भयो । सिन्धुपाल्चोकको इन्द्रवती गाँउपालिकाको भोटसिपामा केही तनाव हँुदा प्रहरीले हवाई फायर गर्‍यो  । रामेछापको दोरम्बामा तनाव हुँदा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ । 
अन्य स्थानहरुमा चुनावमा कुनै अप्रिय घटना भएनन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान पाँचबजे सकिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकलाई आधार मान्दा ६२ प्रतिशत भन्दा बढी मतदान  भएको देखिएको छ । यद्यपी तीन वटै प्रदेशमा कति मत खस्यो भन्ने आधिकारिक तथ्यांक निर्वाचन आयोगले केहीबेरमा सार्वजनिक गर्ने छ । मत प्रतिशत केही बढ्न सक्छ ।  
नयाँ संविधान अनुसार मुलुक संघीय संरचनामा गएपछि भएको यो पहिलो निर्वाचन हो । यो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकारको अभ्यास गर्नेछन् । 
पहिलो चरणमा ३४ वटा जिल्लाका  २ सय ८३ वटा  स्थानीय तहमा आइतबार चुनाव भएको हो । पहिलो चरणको यो चुनावबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुनिने छन् । उक्त पदका लागि ४९ हजार ३ सय ३७ उम्मेदवार प्रतिस्पर्धी छन् । 
आइतवारको निर्वाचनमा मतपत्रको विषयमा मतदाताहरुको केही गुनासो आएको  छ  । विषेशगरी काठमाडौंको मतपत्र धेरै ठूलो भएको र चिन्ह चिन्नकै गार्‍हो भएको प्रतिक्रिया आएको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडाअध्यक्ष, सदस्य लगायत सबैका लागि एउटै मतपत्र हुँदा केही जटिलता देखिएको थियो । मतदान केन्द्रहरुमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था भएकाले मतदान गर्नका लागि ठूलो असहज भएको थिएन । कान्तिपुरमा समाचार छ । 
कुन चुनावमा कति प्रतिशत मत ? 
२०४८ मा ६५.१५ प्रतिशत
२०५१ मा ६१.८६ प्रतिशत
२०५६ मा ६५.७९ प्रतिशत
२०६४ मा ६१.७० प्रतिशत
२०७० मा ७८.३४ प्रतिशत