दोस्रो चरणको स्थानीय निर्वाचन तयारी पूरा, ९० लाख बढी मतदाता

स्थानीय तह दोस्रो चरणको निर्वाचन असार १४ मा घोषित छ । यसअघि घोषित जेठ ३१ कै मितिका लागि काम थालेकाले निर्वाचन आयोगले दोस्रो चरणको तयारी करीब करिब पूरा गरिसकेको छ ।   कान्तिपुरमा समाचार छ । 
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणमा हुने ४६१ वटै स्थानीय तहमा निर्वाचन अधिकृतहरु खटिसकिएको बताए । निर्वाचन अधिकृत खटिसकिएको छ, सबै निर्वाचन सामग्रीहरु जिल्लामा पठाइसकिएको छ, उनले भने मतदाता शिक्षाका लागि प्रत्येक घरमा पुग्ने गरी स्वयंसेवक खटाइएको छ । उनले पहिलो चरणभन्दा  दोस्रो चरणमा मतदाता शिक्षामा सुधार गरी स्वयंसेवकलाई घर घर पुगेको प्रमाण ल्याउन निर्देश गरिएको बताए । 
प्रदेश नम्बर १, २, ५ र ७ को ४३ जिल्ला(नवलपरासी र रुकुमको केही भाग समेत) मा निर्वाचन हुन लागेको हो । तराईका चितवन बाहेकको १९ जिल्ला दोस्रो चरणमै परेको छ । 
पहिलो चरणमा बैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्ला(नवलपरासी र रुकुम समेत)का २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । भरतपुर महानगरपालिका बाहेक २८२ स्थानीय तहमा जनप्रतिनिधी बहाल भइसकेका छन् ।
भरतपुरमा मतगणना भइरहेका बेला मतपत्र च्यातिएको विवादलाई लिएर त्यहाँको परिणाम आउन सकेको छैन । आयोगले मतपत्र च्यातिएको वडा न.१९ मा पुन: मतदानको निर्णय गरेको छ । त्यहाँको परिणाम आउन अझै केही पर्खिनुपर्ने छ ।
२ महानगर , १० उपमहानगर, १५६ नगरपालिका र २९३ गाउँपालिका 
सबैभन्दा बढी मतदाता र स्थानीय तह प्रदेश नम्बर १ मा 
बढी उपमहानगर भएको प्रदेश ५ 
सबै प्रदेशमा उपमहानगर 
तराईका २० मध्ये १९ जिल्ला दोस्रो चरणमै 
पहिलो र दोस्रो चरणको निर्वाचनबाट ७४४ गाउँपालिका र नगरपालिकमा जनताबाट प्रत्यक्ष निर्वाचित ३४९०८ र स्थानीयसभाले आफ्नो कार्यपालिका सदस्यमा निर्वाचित गर्ने दलित वा अल्पसंख्यक समूदायका १,७५३ जना सहित स्थानीय सरकारमा कुल ३६,६६१ जनप्रतिनिधी बहाल हुँदैछन् ।
पहिलो चरणमा जनताको मतदानबाट प्रत्यक्ष चुनिने १३,५५६ मध्ये १३,२४२ जनाले पदबहाल गरिसकेका छन् । पहिलो चरणका ९७ नगरपालिका(४ महानगर, १ उपमहनागर सहित) र १८६ गाउँपालिकाको कार्यपालिका सदस्यमा दलित तथा अल्पसंख्यक समूदायबाट निर्वाचित गर्ने क्रम चलिरहेको छ । नगरसभाले आफ्नो कार्यपालिकामा ३ जना र गाउँपालिकाले २ जना दलित वा अल्पसंख्यक ल्याउनुपर्ने छ । 
सभाले कार्यपालिकाका लागि महिला सदस्य पनि निर्वाचित गर्छ । तर, निर्वाचित भएका महिला सदस्यहरु मध्येबाटै कार्यपालिकाका लागि चुनिने भएकाले त्यसबाट जनप्रतिनिधीको संख्या भने थपिदैंन ।
२ महानगर , १० उपमहानगर, १५६ नगरपालिका र २९३ गाउँपालिका 
दोस्रो चरणमा २ महानगरपालिका, १० उपमहानगर, १५६ नगरपालिका र २९३ गाउँपालिकामा निर्वाचन हुँदैछ । 
सरकारले तराईका दुई शहर प्रदेश न. १ को विराटनगर र प्रदेश न. २ को वीरगन्जलाई महानगरपालिका बनाएपछि दोस्रो चरणको निर्वाचनमा पनि महानगरपालिकाको नेतृत्व हत्याउन तिब्र प्रतिस्पर्धा हुने भएको छ ।  यसअघि रहेका ४ वटा महानगरहरु काठमाडौं, ललितपुर, पोखरा लेखनाथ र भरतपुर पहिलो चरणमै परेको थियो । 
२ उपमहानगर महानगर भएपछि उपमहानगरको संख्या ११ भएको छ । त्यसमध्ये हेटौडा उपमहानगरपालिकामा निर्वाचन भइसकेको छ । बाँकी १० उपमहानगपालिकाको निर्वाचन दोस्रो चरणमा हुँदैछ । प्रदेश नम्बर १ मा इटहरी र धरान, प्रदेश नम्बर २ मा जनकपुर, कलैया र जीतपुर सिमरा, प्रदेश नम्बर ५ मा बुटबल, घोराही, तुल्सिपुर र नेपालगन्ज, प्रदेश नम्बर ७ मा धनगढी उपमहानगरपालिका छन् ।  
प्रदेश नम्बर १ मा ४६, प्रदेश नम्बर २ मा ४५, प्रदेश नम्बर ५ मा ३२ र प्रदेश नम्बर ७ मा ३३ नगरपालिका छन् । 
त्यस्तै, प्रदेश नम्बर १ मा ८८,  २ मा ७८, ५ मा ७३ र ७ न. प्रदेशमा ५४ वटा गाउँपालिका छन् । दोस्रो चरणमा निर्वाचन हुने ४६१ वटै स्थानीय तहमा वडासंख्या ४ हजार ८६ रहेका आयोगले जनाएको छ । ७४४ वटै स्थानीय तहको कुल ६ हजार ६ सय ८४ वडामध्ये २ हजार ५ स ९८ मा बैशाख ३१ मै निर्वाचन भइसकेको छ । 
सबैभन्दा बढी मतदाता प्रदेश नम्बर १ मा 
कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता मध्ये ९० लाख ९७ हजार ५ सय ५७ जनाले दोस्रो चरणको निर्वाचनमा भाग लिन पाउने छन् । बाँकी मतदाता पहिलो चरणमा परेका थिए । 
सबैभन्दा बढी प्रदेश नम्बर १ मा २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन् । त्यसपछि प्रदेश नम्बर २ मा २६ लाख ६४ हजार ७ सय ९२, प्रदेश नम्बर ५ मा २४ लाख ५४ हजार ४ सय ८८ र प्रदेश नम्बर ७ मा १३ लाख ३ हजार ७ सय १४ मतदाता छन् । 
मतदान केन्द्र ११९३१
९० लाख बढी मतदाताका लागि दोस्रो चरणको निर्वाचनमा ६ हजार ७ सय १८ स्थलमा ११ हजार ९ सय ३१ मतदान केन्द्र तोकिएको छ । पहिलो चरणमा ६ हजार ६ सय ४२ मतदान केन्द्र थिए । 
आयोगका प्रवक्ता शर्माले मतदान केन्द्रमा मात्रै दोस्रो चरणमा ९५ हजार कर्मचारी परिचालित हुने बताए  
प्रदेश अनुसारको स्थानीय तह र त्यहाँको मतदाता सहितको विवरण: