स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म नेकपा एमालेले ६ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ४ स्थानीय तहमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएको छ ।
पछिल्लो मत परिणामअनुसार डडेल्धुराको अमरगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका विश्वेश्वरप्रसाद ओझा विजयी भएका छन् । उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् ।
बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका भुवनेश्वर उपाध्याय विजयी हुनुभएको छ । उपाध्यक्षमा पनि एमालेकै गंगुदेवी कठायत विजयी भइन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै विना भट्ट विजयी भइन् ।
बाजुराको छेडेदह गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर राउत विजयी भएका छन् । उनी ३ हजार ७ सय ५ मत ल्याएर विजयी भएका हुन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै कुन्ती बुढा साउद ३ हजार ६ सय ७१ मत ल्याएर विजयी भएकी छन् ।
खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको शंकर राई विजयी भएका छन् । उनले २ हजार १ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् ।
उपाध्यक्षमा पनि एमालेकै विमला राईले २ हजार ८६ मत प्राप्त गरी विजयी भइन् ।
संखुवासभाको सिलिचोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामकुमार कुलुङ विजयी भए । उपाध्यक्षमा पनि कांग्रेसकै रामकुमारी राई विजयी भएका छन् ।
संखुवासभाकै चिचिला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नर्बु शेर्पा विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै यदुकुमारी राई विजयी भइन् ।
बाजुराको पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन् । शाहीले १ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा पनि एमालेकी ऐना गिरी विजयी भएकी छन् ।
बझाङको मस्टा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कठायत विजयी भएका हुन् । उपाध्यक्षमा एमालेकै भगवती बोहोरा विजयी भइन् ।
यस्तै बझाङको काँडागाउँ गाउँपालिकामा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा राजेन्द्र धामी र उपाध्यक्षमा कल्पना धामी विजयी भएका हुन् ।
यता, सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा डम्बरबहादुर बस्नेत र उपाध्यक्षमा शर्मिला बस्नेत विजयी भएका हुन् ।
निर्वाचन आयोगले ३ सयभन्दा बढी तहमा मत गणना भइरहेको जनाएको छ । मतगणना भइरहेका स्थानीय तहमा कांग्रेस र एमालेका उम्मेदवारबीच नै तिव्र प्रतिस्पर्धा छ । अहिलेसम्म कांग्रेस र एमालेका उम्मेदवार एक-एक सयभन्दा बढी स्थानीय तहमा अग्रता लिएका छन् ।
त्यसैगरी माओवादी केन्द्रले पनि ४० स्थानमा अग्रता लिएको छ भने संघीय समाजवादी फोरम ५, लोकतान्त्रिक फोरमको ५ स्थान र राप्रपाले १ स्थानमा अग्रता लिएका छन् । इमेजखबरमा समाचार छ ।