गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी

झापाको कमल गाउँपालिकाको अध्यक्षमा ‘गोलाप्रथा’ बाट नेकपा एमालेकी मेनुका काफ्ले विजयी भएकी छिन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हुकुमसिंह राईलाई पराजित गरेकी हुन् ।


काफ्ले र राईले समान ८ हजार २ सय ७५ मत पाएका थिए । बराबर मत भएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको सहायक निर्वाचन अधिकृत राजकुमार शाक्यले जानकारी दिए । काफ्लेको विजयीसँगै कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ ।


गाउँपालिकाको उपाध्यक्षमा बेनु शिवाकोटी निर्वाचित भएका थिए । शिवाकोटीले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी दीपा गौतमलाई पराजित गरेका हुन । शिवाकोटीले ९ हजार ४ सय १८ र गौतमले ४ हजार ९ सय ९२ मत पाएका थिए ।
एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय सचिव काफ्ले २०६४ सालको संविधानसभा निर्वाचनमा झापा- २ बाट पराजित भएकी थिइन् । उनी २०७० को संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सूचीमा थिइन् ।


एमालेले झापामा दुईजना महिलालाई प्रमुखमा उम्मेदवार बनाएको थियो । त्यसमध्ये हल्दिीबारीमा एमाले उम्मेदवार मञ्जु सिटौला पराजित भएकी थिइन् ।


कान्तिपुरबाट