कांग्रेसका पुराना नेता रामहरि जोशीको निधन भएको छ ।
२००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशीको ९२ वर्षको उमेरमा बिहीबार साँझ ग्रान्डी अस्पतालमा उपचारकोक्रममा निधन भएको हो । उनका भतिज विष्णुले नेता जोशीको साँझ साढे ७ बजे निधन भएको पुष्टि गरे ।
स्वासप्रस्वासको समस्या देखिएपछि असार ७ गते अल्का अस्पताल भर्ना गरिएका जोशीलाई २१ गते ग्रान्डी रिफर गरिएको थियो । उनीमा उच्च रक्तचापको समस्या पनि थपिएको थियो ।
ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले भने- रामहरि जोशीलाई निमोनिया भएको थियो, त्यसले मृगौला र फोक्सोमा असर पुगेको थियो । निमोनियाका कारण संक्रमण बढेपछि भेन्टिेलरमा राखेर उपचार सुरु गर्यौं । उमेरका कारण ब्लड प्रेसर मेन्टेन हुन सकेन । दुई वर्षअघि लडेर उहाँको हिप बोन फ्याक्चर भएको थियो, त्यसले निमोनियाको संक्रमण शरीरभरी भएको थियो । डायलसिस गरेर हर सम्भव प्रयास गरे पनि बचाउन सकिएन ।
जोशी गान्धीवादी नेताकोरुपमा परिचित छन् ।
सर्लाही क्षेत्र नम्बर ३ बाट २०४८ र २०५१ सालको निर्वाचनमा निर्वाचित जोशी शिक्षा र पर्यटन मन्त्री भएका थिए ।
राजनीतिमा आउनुअघि सर्लाहीमा एक विद्यालयको प्रधानाध्यापक रहेका जोशीले जिल्लाको शैक्षिक उन्नयनमा योगदान दिएका छन् । कान्तिपुरमा समाचार छ ।