सुर्य भुसाल
बुटवल । नेपाल पत्रकार महासंघका एक केन्द्रीय सदस्य समाचारको विषयमा मोलमोलाईमा संलग्न रहेको भिडियो सार्वजनिक र पछील्लो विवादलाई लिएर नेपाल प्रेस युनियनले आश्र्चर्य व्यक्त गरेको छ ।
प्रेस विज्ञप्ती
नेपाल पत्रकार महासंघ इतिहासकै गम्भिर मोडमा खडा भएको छ भने महासंघ नेतृत्व इतिहासकै संगिन कठघरमा उभिएको छ। फरक विचार राख्नेहरुसँग राजनीतिक रुपमा अत्यन्तै पूर्वाग्रही देखिएको महासंघ नेतृत्व अनेक विवादमा समेत मुसिएको छ। पछिल्लो पटक महासंघका एक केन्द्रीय सदस्य समाचारको विषयमा मोलमोलाईमा संलग्न रहेको भिडियो सार्वजनिक हुनुले समग्र नेपाली पत्रकारीतालाई कठघरामा उभ्याएको छ।
घटनामा संलग्न महासंघका केन्द्रीय सदस्यले आफू कार्यरत समाचार संस्थाका सम्पादकलाई मिलाउनु पर्ने भन्दै समाचारको मोलमोलाइमा संलग्न रहनु र सो समाचार संस्थाका सम्पादक स्वयं महासंघका केन्द्रीय सभापति रहनुले घटनालाई थप सन्देहपूर्ण बनाएको छ। महासंघकै एक केन्द्रिय सदस्यले महासंघकै सभापति समेत रहेका सम्पादकलाई संलग्न गराएको यो घटनाको विषयमा महासंघको केन्द्रीय समितिले स्वतन्त्र छानविनका लागि मार्ग प्रशस्त गरि पत्रकारीतामा खडा भएको सवालको निरुपण गर्छ भन्ने अपेक्षा गरिएपनि यसलाई ढाकछोप गर्ने काम मात्र गरिएकोले धेरैलाई आश्चर्यमा पारेको छ।
महासंघको केन्द्रीय महासचिवलाई घटना सार्वजनिक हुनुअघी नै जानकारी भएपनि त्यसलाई गम्भिरतापूर्वक नलिनु तर घटना सार्वजनिक भएपछि महासचिवकै नेतृत्वमा छानविन समिति बनाएको भनिएपनि सो समितिप्रति ढुक्क हुने स्थित नरहेको धेरेको बुझाई छ।
नेपाली आमसञ्चार माध्यमको आचार संहिताको अनुगमन गर्ने एकमात्र निकाय प्रेस काउन्सिल नेपाल पनि नेपाली पत्रकारीताको मुखमा कालो पोत्ने यस घटनाको बारेमा मौन प्राय देखिनुले काउन्सिलको भुमिकामाथि पनि सन्देह पैदा गरेको छ। काउन्सिलका सदस्य समेत रहेका महासंघका अध्यक्ष मुसिएको यो घटनामा बारेमा काउन्सिललाई आफ्नो सक्रियता देखाउँदै आफ्नो गरिमा कायम राख्न हामी आग्रह गर्दछौ।
नेपाल प्रेस युनियन यो घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ। घटना सार्वजनिक हुनु, घटनामा संलग्न महासंघ केन्द्रीय सदस्यले स्वनिलम्वन गर्नु तर उनले मुछेका महासंघका सभापति तथा सम्वन्धित सञ्चारगृहका सम्पादक अझै पनि पानी माथिको ओभानो रहन खोज्नुले हामी सबैलाई आश्र्चर्यमा पारेको छ। तसर्थ यो घटनाको स्वतन्त्र छानविनको लागि पत्रकार महासंघका सबै सदस्यहरु, सरोकारवालाहरुले दवाव दिनु आवश्यक छ। नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको छाता संगठनका साथै गरिमापूर्ण नागरिक संस्थाको रुपमा कायम राख्न फेरि एकपटक सचेत हस्तक्षेपका लागि नेपाल प्रेस युनियन सबै सरोकारवाला समक्ष आग्रह गर्दछ। जय नेपाल।
अजयबाबु शिवाकोटी
महासचिव