भदौ भित्रमा देशभरका पार्टी कमिटी एक भइसक्छ : प्रचण्ड

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी कमिटी एक भइसक्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्न वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हन्।

‘२५ गतेसम्म तलबाट सुझाव मागेको छौं र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म देशभरका सबै पार्टी कमिटी एक भइसक्छ,’ उनले भने।
अध्यक्षले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ति गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको स्पष्ट पारे।

उनले भने, ‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरू पनि निर्माण गर्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ ।’
उनले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाइ नै मुख्य कुरा भएको बताए।

‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले राखिएको हो। त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरूले गर्ने छानबिनमा भर पर्छ,’ उनले भने, ‘संवैधानिक परिषद्बाट सिफारिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नै पथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाइ समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानबिन गर्न पाउनुपर्छ भन्ने बहस छ । हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्यौं । सेतोपाटीमा खबर छ ।