महिला हिंसा रोक्न सरकार कडा हुन्छः गृहमन्त्री थापा

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो समय आएका महिला हिंसा र बलत्कार घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।

महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम वर्माको नेतृत्वमा आज गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको टोलीलाई उनले महिला हिंसा घटनालाई गम्भिरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिएका छन । गृहमन्त्री बादलले महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिएपनि कारवाहीको दायरामा ल्याईने स्पष्ट पारे ।

यस्ता घटनामा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कार्वाही प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिँदै उनले महिला हिंसाविरुद्ध मन्त्रालयले शुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह गर्दै उनले भने, अनियन्त्रित मदिराको विक्रीवितरण र लागूपदार्थको सेवन तथा अन्य कारणले महिला हिंसाका घटना बढेका छन्  त्यसैले पहिला ती कारणको न्युनिकरण गर्न जरुरी देखिएको छ ।

भेटमा गृहमन्त्री बादलले केही दिनमै मदिराको बिक्री वितरणलाई व्यवस्थित गर्ने र लागू पदार्थको प्रयोगलाई निषेध गर्ने गरी गृहमन्त्रालयले कार्यक्रमको घोषणा गर्न लागेको जानकारी दिए ।

मन्त्री थापाले पछिल्ला दिनमा बलत्कारका घटना बढेको जस्तो देखिए पनि तथ्यांकगत रुपमा घटेको बताउदै पहिले यस्ता घटना गोप्य राखिन्थ्यो, मिडियामा पनि बढी आउँदैन्थ्यो । तर अहिले मिडियामा बढी आउन थालेकोले घटना बढेको हुनकि भन्ने जस्तो देखिएको हो ।

उनले कञ्चनपुरमा बालिकाको हत्याको विषयमा समेत गृहमन्त्रालयले छानविन समितिमार्फत छानविन अघि बढाइसकेकोले केही दिनमै सत्यतथ्य आउने विश्वास व्यक्त गरे । सञ्जालको टोलीले पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा भएका महिलाको बलत्कार, हत्या लगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो । रातोपाटीमा समाचार छ ।