सरकारी स्कुलमा क्वारेन्टाइन, शुल्क उठाउन निजीमा विद्यार्थी भर्ना ? : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारी विद्यालयमा क्वारेन्टाइन रहेका बेला शिक्षा मन्त्रीले अब छिटै विद्यालय चल्छन् भन्दै हिँडेको बताएका छन्।

‘शिक्षामन्त्रीले अब विद्यालय चल्छन्। परीक्षा लिइन्छ भन्दै हिँड्नुहुन्छ। भर्ना हुन आउ भन्नुहुन्छ,’ आइतबार प्रतिनिधिसभा संसद बैठकमा खाँणले भने, ‘देशभरका सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने। नागरिक राख्ने। अनि कसरी विद्यालय चल्छ।’

क्वारेन्टाइनमा सरकारले नागरिक राखे पनि खानालगायत सेवा सुविधा नदिएको उनको भनाइ छ।

‘कसैलाई भोकै रहन दिन्न। मर्न दिन्न भन्ने अनि क्वारेन्टाइनमा बस्नेलाई आफैं खाना लिएर आऊ भन्ने?’ उनले प्रश्न गरे।

निजी विद्यालयहरू सञ्चालन हुन थालेकोप्रति सांसद खाँणले पठनपाठनका लागि भन्दा पनि शुल्क लिनका लागि निजीमा भर्ना सुरू भएको बताए।

‘सरकारी विद्यालय क्वारेन्टाइन, निजीलाई शुल्क लिन सञ्चालन गर्ने? यो विलकुलै अनुचित हुन्छ,’ उनले भने, ‘विद्यालय चलाउने हो भने सबै चलाउनुपर्छ।’ जेठ २१ गतेदेखि केही निजी विद्यालयमा विद्यार्थी भर्ना सुरू भएका छन्।

उनले त्रिभुवन विश्वविद्यालयमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एक हजार चार सय दरबन्दीमा शिक्षक राखिएको उल्लेख गर्दै ती शिक्षकले अहिले तलब नपाएको बताए।

‘आंशिक शिक्षकलाई त्रिविले तलब दिएन। दाल चामल विहीन हुनुभएको छ। यस्तो हृदय विहीन बन्न सरकार मिल्दैन,’ उनले भने।


अर्थमन्त्रीले पेश गरेका बजेटका कतिपय प्रावधान शिक्षा मन्त्रीले फरक मत राखेको भन्दै व्यंग पनि गरे।

‘सरकारले ल्याएको बजेट मन्त्रीपरिषदबाट स्वीकृत हुने प्रचलन छ। यसपटक भयो भएन मन्त्रीजीलाई थाहा होला,’ उनले थपे, ‘अर्थमन्त्रीले पेश गरेको बजेटका कतिपय प्रावधानमा स्वयम शिक्षामन्त्री नै गीत गाउँदै हिँड्नुभएको छ।’ सेतोपाटीले उल्लेख गरेको छ।