स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरस रिमुभिङ कार्ड प्रयोग नगर्न आग्रह गरेको छ।
उक्त कार्ड घाँटीमा झुण्डाएमा कोरोना लाग्दैन भन्ने भ्रम सिर्जना भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
‘हालै मात्र भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा झुण्ड्याएमा कोरोना लाग्दैन भन्ने भ्रम सिर्जना भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यस किसिमको कुनै पनि कार्ड हालसम्म पत्ता लागेको छैन। यस किसिमको विधि र प्रक्रिया नै सुरू नभएको व्यहोरासमेत सबैमा अनुरोध छ।’
डाक्टर गौतमले यस्तो विधि भएको भए ‘संसारभर महामारीको यस्तो कठिनाइ हुँदैनथ्यो होला’ भनेका छन्।
उनले यस्तो विधि प्रभावकारी नहुने पनि बताए।
‘यस्ता विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भई प्रक्रियाअनुसार सरकारले आफैं उपलब्ध गराउने गरी अगाडि बढ्नेछ,’ उनले भने।
उनले भारइस रिमुभिङ कार्ड बनाउने, विक्री गर्नेलाई पनि कारबाही गरिने बताए। भाइरस रिमुभिङ कार्ड नामले कसैले कार्ड बनाउने, विदेशबाट ल्याउने, बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिका गलामा झुण्ड्याउने र प्रचारमा ल्याउने देखिनुमा चिन्ताजनक भएको बताए।
यस्ता कार्ड बनाउन नेपाल सरकारले कुनै स्वीकृति नदिएको उनले बताए।
‘रसायनले मुटुलगायत अंगमा समस्या गर्छ। श्वासप्रश्वासमा समस्या हुन्छ। भाइरस रिमुभिङ कार्ड प्रयोग नगर्नू,’ उनले भने।
जनताका भावनालाई बहकाएर जनस्वास्थ्यमाथि खेलवाड गर्ने गरी भएका गतिविधिलाई कानुनी दायरामा ल्याई कारबाही अगाडि बढाउने मन्त्रालयले बताएको छ।सेतोपाटिमा उल्लेख छ।



