ठूलापोखराको श्री नेपाल राष्ट्रिय उच्च माविका शिक्षक हुमलाल पौडेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका -६ ठूलापोखरामा रहेको श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कार्यरत निमावि अस्थायी शिक्षक हुमलाल पौडेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
तत्कालीन शिक्षक पौडेलले झुट्टा प्रमाणपत्र पेश गरेको अभियोगमा अख्तियार मुद्दा दायर गरेको हो ।
पौडेलले गोरखपुर विश्वविद्यालय भारतबाट शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारले आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

प्रेस विज्ञप्ति:- मिति २०७९।०३।०८ गते ।
—————————————————-

जिल्ला अर्घाखाँची, नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा कार्यरत निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई ल्याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन शिक्षक हुमलाल पौडेलले झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी निजले नियुक्ति हुँदा गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित हुन आएको हुँदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेकोले निज हुमलाल पौडेललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

अन्य समाचारहरु