नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी खारेज

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले २०७२ को टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका थारुको उम्मेदवारी खारेज गरेको हो । 
थारुको उम्मेदवारीविरुद्ध धनगढी उपमहानगरपालिकाका रामबहादुर सिंहले उजुरी दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले संघीय कानुनबमोजिम लक्ष्मण थारु प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न अयोग्य रहेको जनाएको छ । कर्तव्य ज्यान मुद्दामा उच्च अदालत दिपायलले थारुलाई जन्मकैदको सजाय सुनाएको थियो ।
ad
उक्त फैसलाविरुद्ध उनी सर्वोच्चमा पुनरावदेनमा गए पनि मुद्दा विचाराधीन रहेको छ । निर्वाचन कार्यालयले ज्यान मार्ने उद्योगतर्फ उनलाई सुनाइएको ५ वर्षको कैद सजाय पनि भुक्तानी नगरेको र भुक्तान भएको अवस्थामा समेत प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३(छ) को व्यवस्थाबमोजिम सो सजाय भुक्तान भएको ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने भएकाले थारुको उम्मेदवारी खारेज गरिएको जनाएको छ । कान्तिपुरले समाचारमा उल्लेख गरेको छ।