आचारसंहिता उलङ्घन गरेको भन्दै पम्फा भुसालविरुद्ध एमालेको उजुरी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी पम्फा भुसालले आचारसंहिता उलङ्घन गरेको भन्दै एमाले ललितपुर क्षेत्र नम्बर ३ निर्वाचन कमिटीले उजुरी दिएको छ ।
आचारसंहिता उलङ्घन गरेको भन्दै पम्फा भुसालविरुद्ध एमालेको उजुरी
आदिवासी जनजाति स्वतन्त्र महिला समूहको नाममा ललितपुर महानगरपालिका वडा नं १४ स्थित थसीखेल, नखिपोट र विशाल चोक आसपासका क्षेत्रमा पर्खाल, बिजुलीका पोलमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पम्फा भुसाललाई अत्यधिक मतले विजयी गराऊ भनी पोष्टर टाँसिएको पाइएपछि नेकपा एमाले ललितपुर क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले उजुरी दिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा दिइएको उजुरीमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ को उपदफा १, २ र ३ विपरीत कार्य गरेको हुँदा कारबाहीको माग गरिएको छ ।
उक्त पोष्टरमा माओवादी केन्द्रको छाप समेत देखिएको भन्दै उजुरीमा तत्काल पोष्टर जफत गर्न र हटाउन माग गरिएको छ ।
यस्तै, निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेहरूलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ (७) अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
यसअघि गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठ, सोही पार्टीका नेता एवं मन्त्री मेटमणि चौधरी लगायतले आचारसंहिता उलङ्घन गरेको जनाउँदै आयोगमा उजुरी परेको थियो ।नेपाल प्रेसले उल्लेख गरेको छ। 
आचारसंहिता उलङ्घन गरेको भन्दै पम्फा भुसालविरुद्ध एमालेको उजुरी