ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

 काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।
आयोगको शनिबार बसेको बैठकले डा. कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।दाबी विरोध गर्ने समय सकिएपछि डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, ललितपुरमा उजुरी परेको थियो । कार्यालयले सोधेको स्पष्टीकरणमा कार्कीले आफू मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र यो लाभको पद नभएको जिकिर गरेकी थिइन् ।
कार्यालयले यसबारे निर्णय गर्न आयोगलाई पत्रचार गर्‍यो । आयोगले मेडिकल काउन्सिललाई कार्की बहाल रहेको सदस्य पद लाभको भए नभएको भनेर जानकारी मागेको थियो ।
काउन्सिलले सदस्यको मासिक पारिश्रमिक नहुने तर, बैठक भ्रमण भत्ता हुने जानकारी गरायो । यसअनुसार कार्कीले २०७९ वैशाखदेखि भदौसम्म १ लाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएकी छिन् । साथै अख्तियार ऐनअनुसार सम्पत्ति विवरण पनि बुझाउने भएकाले सार्वजनिक पद भएको काउन्सिलको जवाफमा उल्लेख छ ।
आयोगको शनिबार बसेको बैठकले सार्वजनिक पद धारण नगरेको भनेर कार्कीले गरेको स्वघोषणा उल्लंघन भएको र पारिश्रमिक वा आर्थिक सुविधालाई लाभको पद भनिने संविधानमा प्रष्ट व्यवस्था रहेकाले कार्कीको उम्मेदवारी खारेज हुने निर्णय गरेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, कार्की नेपाल मेडिकल काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी पदमै कायम रहेको अवस्थामा उम्मेदवारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।
चार वर्षे कार्यकालका लागि उनी मेडिकल काउन्सिलमा गत भदौमा निर्वाचित भएकी थिइन् । – अनलाइन 
निर्वाचन आयोगको विज्ञप्ति