स्वतन्त्र पार्टीलाई काठमाडौँबाट समानुपातिकमा एक लाख बढी मत

 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ जिल्लाबाट मात्रै एक लाख १० हजार मत प्राप्त गरेको छ।

शुक्रबार रातिसम्म निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार स्वतन्त्र पार्टीले काठमाडौँका १० निर्वाचन क्षेत्रबाट एक लाख १० हजार ८४ मत पाएको हो। स्वतन्त्र पार्टीले काठमाडौँका ४ क्षेत्रमा प्रत्यक्षतर्फ जितेको छ। काठमाडौँमा ६ लाख भन्दा बढी मतदाता छन्।

दोस्रोमा कांग्रेसले ८० हजार ८१९ मत समानुपातिकमा पाएको छ। एमालेले ७९ हजार १४५ भोट पाएको निर्वाचन आयोगले जनाएको छ।

राप्रपाले ६१ हजार ३१५, माओवादीले १७ हजार ५०२ मत पाउँदा हाम्रो नेपाली पार्टीले १३ हजार ३६५ मत पाएको छ। एकीकृत समाजवादीले स्थानीय तहको चुनावको तुलनामा आधाले मत घटाएको छ।

काठमाडौँका १३८ वटा मध्ये ६८ मा उम्मेदवारी दिँदा २६ हजार मत पाएको समाजवादीले समानुपातिक तर्फ अहिले जम्मा १२ हजार एक सय मत पाएको छ।

नेमकिपाले ९ हजार ४७५, जसपाले ३ हजार ४२३ मत पाएको छ।