-बिष्णु खनाल /अनिल नेपाली , अर्घाखाँची ।
अर्घाखाँची । पाणिनी बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्ति पाएपछि खुसी भएका छन् । गरीव तथा जेहेन्दार विद्यार्थीहरुले उक्त छात्रवृत्ति पाउँदा उनीहरु खुसी भएका हुन् ।

सोमबार पाणिनी बहुमखि क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी गरीव परिवारका १३ जना बी.एड. तथा बि.बि.एस. अध्ययनरत छात्रछात्राहरुलाई छात्रवृत्ति हस्ताण्तरण गरिएको हो ।

सन्धिखर्क नगरपालिका ५ नं. वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार १ लाख बजेट विनियोजन गरि एक विद्यार्थी ७ हजार ६ सय ९२ रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको वडा सचिव अनन्तमणि पोख्रेलले जानकारी दिए । वाङ्गलाको जीवनोद्धार मा.वि.बाट १२ कक्षा पास गरि पाणिनी बहुमुखि क्याम्पसमा बि.एड. तथा बि.बि.एस.संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पढ्न सहज होस् भनेर छात्रवृत्ति उपलब्ध गराएको सचिव पोख्रेलको भनाई छ ।

कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष ऋषव अधिकारीले गत स्थानीय तहको निर्वाचन हुनु अगावै शैक्षिक क्षेत्रमा लगानी गर्न पर्छ भनि संकल्प राखे अनुसार निर्वाचित भएपछि पहिलो वर्ष मै छात्रवृत्ति दिएको बताए ।

क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका वडाध्यक्ष अधिकारीले पहिलो वर्षमा थोरै रकम छात्रवृत्तिका लागि ल्याएपनि आगामि आर्थिक वर्षमा यस कार्यक्रमलाई निरन्तरता दिदै थप बजेटमा वृद्धि गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा लगानी गर्न सकेमात्र बसाईसराई, रोजगारीका लागि विदेश पलायन हुने जस्ता समस्या केही हदसम्म हटेर जाने उनको भनाई छ ।

यस्तै पाणिनी बहुमखि क्याम्पसका प्रमुख बुद्धिराम भुसालले वडा नं. ५ ले गरेको कार्यको उच्च प्रशंसा गर्दै अन्य पालिका तथा वडाहरुले सीको गर्नु पर्ने जरुरी रहेको बताए । आर्थिक अवस्था नभएकै कारण विद्यार्थीहरु रोजगारीका लागि विदेश पलायन हुने र घरमै बस्न बाध्य भएकाले अन्य जनप्रतिनिधिले पनि शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने जरुरी रहेको उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरु पवित्रा के.सी.भुसाल, बिन्दु बि.क., माया कुमाल, सपना अर्याल, शिला अधिकारी, प्रशंसा खनाल, सुशिल कुम्भकार, रिता भुसाल, दिपा पाण्डे, रञ्जिता पाण्डे, अञ्जु भट्टराई, पुजा अधिकारी, बिष्णु बिश्वकर्माले छात्रवृत्ति प्राप्त गरेका छन् ।

सन्धिखर्क नगरपालिका ५ नं. वडा कार्यालयको आयोजना, पाणिनी बहुमुखि क्याम्पसको सहजिकरणमा संचालन भएको कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, ४ नं. वडा सदस्य चोपनारायण श्रेष्ठ, ५ नं. वडा सदस्य तथा पुर्व विद्यार्थी कृष्ण भुसाल, पाणिनी बहुमुखि क्याम्पस स्ववियु सभापति लक्ष्मण खड्का लगायतले मन्तव्य राख्दै दूरदर्शी शैक्षिक नेतृत्व, चुस्त व्यवस्थापन, समर्पित शिक्षक, अनुशासित विद्यार्थी, सचेत अभिभावक भएमात्र लगानीअनुसार शैक्षिक प्रतिफल अपेक्षा गर्न सक्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रम क्याम्पस उपप्राध्यापक रामलाल भुसालको स्वागत र सहायक प्राध्यापक लक्ष्मण पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।



