चुनावी परिणाम सहितको प्रतिवेदन बुझाएसँगै सात वटै प्रदेशमा सरकार गठनको बाटो खुल्यो

                                                                                प्रतीकात्मक तस्बिर

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

काठमाण्डाै – निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन प्रदेश प्रमुखसमक्ष बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।

गएको मंसिर ४ गते भएको प्रदेश सभा सदस्य चुनावको परिणाम आज एकैसाथ सात वटा प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश सभाका लागि भएको चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ।

पहिलो बैठक आह्वान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । प्रदेश सरकारको सभामुख तथा उपसभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् ।

प्रदेश सांसदहरुमध्येको ज्येष्ठ सदस्यको पहिचान प्रदेश सचिवालयले गर्नेछ । संवैधानिक व्यवस्था अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ ।

Nepal Life Insurance

प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधार १ मा रहेको छ ।-उजाल्यो