रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिने बाटो खुला

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदको शपथ लिने बाटो खुलेको छ।

रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादबारे परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि उनले शपथ लिन पाउने भएका हुन्।

बुधबार बसेको संवैधानिक इजलाशले अन्तरिम आदेश नदिएको लामिछानेका वकिल सुनिल पोखरेलले जानकारी दिए।

यस्तै अदालतले दुबै पक्षलाई बहसका लागि पनि बोलाएको छ। त्यसको लागि मिति तोकिसकेको छैन।  रवि लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन मंसिर २८ गते रिट दायर भएको थियो।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

यस्तै अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप छ।  लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न। विदेशी नागरिकता लिने बित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्छ। तर उनले निष्क्रिय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ।

लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए।  यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो।   त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो।

उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले परिसरलाई निर्देशन दिएपछि अनुसन्धान थालेको थियो।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। कसैले झूटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ।

राहदानी ऐन २०७६ को दफा २१ (क) मा झूटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।