वाम एकताका लागि माओवादीले बनायो कार्यदल, नेसपासँगको एकतालाई मूर्त रुप दिने

 

 

-रासस

काठमाडौं : नेकपा माओवादी केन्द्रले वाम एकताका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ। माओवादीले शनिबार उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल बनाएको हो। समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत छन्।

यसैबीच माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता तयारी गरिएको छ। एकता प्रक्रिया सुरु गर्नका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आजै प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। पार्टी एकतालाई मूर्त रुप उनीहरूबीच छलफल भएको हो।

त्यसैका निम्ति माओवादीले कार्यदल बनाएको हो। नेसपाले पनि कार्यदल बनाएर दुई पार्टीबीच एकताको प्रक्रिया सुरु गर्ने माओवादीका एक नेताले बताए।

मंसिर ४ को निर्वाचनमा पनि बाबुरामले आफ्नो क्षेत्र प्रचण्डका निम्ति छाडेका थिए। नेसपाका नेताहरू पनि माओवादीको चुनाव चिन्हबाट उम्मेदवार बनेका थिए। नेसपाबाट महेन्द्र राय यादव विजयीसमेत भएका छन्।

२०७२ सालमा नेकपा माओवादी त्यागेर डा भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए। उनले ०७६ साल वैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेका थिए। एकतापछि समाजवादी पार्टी नेपाल बनेको थियो। २०७९ असारमा भट्टराइले नेपाल समाजवादी पार्टी गठन गरे।

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो। त्यसयता बाबुराम प्रचण्डसँगै थिए। यद्यपि पटक पटक अन्तरसंघर्ष हुँदै आएको थियो। -रासस