– चन्द्र सापकोटा
झ्वाट्ट हेर्दा कतिपयलाई द्वन्द्ववाद र अवसरवाद उस्तै उस्तै लाग्न सक्छ तर द्वन्द्ववाद र अवसरवादमा धेरै फरक मात्रै होइन, विपरीत स्थिति हुन्छ । सामान्य, सतही र उपरी प्रकारले हेर्दा के द्वन्द्ववाद, के अवसरवाद ? नछुट्टिन सक्दछ । त्यसैले द्वन्द्ववाद र अवसरवादबारे हामीले राम्रोसँग हेक्का राख्नुपर्ने हु्रन्छ । त्यसै आधारमा राष्ट्रिय जनमोर्चाले अपनाएको नीति कस्तो छ भन्ने बुझ्न सजिलो हुने छ ।
द्वन्द्ववाद के हो ? द्वन्द्ववाद कस्तो हुन्छ ? द्वन्द्ववाद प्रकृतिको नियम हो । यो वास्तविक र वस्तुपरक हुने गर्दछ । द्वन्द्ववाद प्रकृतिको हरेक वस्तु, पदार्थ, चेतना र मानव समाज वा गतिसम्बन्धी नियम हो । द्वन्द्ववाद विश्वास मात्र हैन, प्रमाणको आधारमा चल्दछ ।
हेगेलले परस्पर विरोधी तत्त्वका बिचमा सङ्घर्ष हुनुलाई द्वन्द्ववाद भने । माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादको माझमा संयोजन गरे† साथै विकास पनि गरे ।
परस्पर विरोधी तत्त्वहरूको बिचमा एकता र सङ्घर्ष दुवै हुने कुरा द्वन्द्ववादले गर्दछ, जो यथार्थ हो । धनी र गरिब, महिला र पुरुष, शासक र शासित तथा ग्लाबमा अक्षांश र देशान्तर रेखा आपसमा विरोधी तत्त्व हुन् । यिनीहरूमा द्वन्द्व चल्दछ । त्यसैबाट विकास हुन्छ ।
विरोधी तत्त्वहरूको बिचमा एकता र सङ्घर्ष हुँदै भएर नै सारा संसार चलेको हुन्छ । सारा संसार अर्थात् सिङ्गो पृथ्वी वा पदार्थ गतिमान छ । द्वन्द्वबिना गति हुँदैन । गति नभई संसार चल्दैन । हरेक चिजभित्र एकता र सङ्घर्ष, मात्राबाट गुणमा परिवर्तन हुने तथा निषेधको निषेध क्रियाशील भएर संसार चलेको हुन्छ । यस्तो नभई संसार रहँदैन । यो नियम नै द्वन्द्ववादी नियम हो ।
हरेक वस्तु र घटनाहरू परस्पर विरोधी तत्त्वका बिचमा एकता र सङ्घर्ष गरेर नै अस्तित्वमा रहेका हुन्छन्† जस्तो : विद्युत्मा धनात्मक र ऋणात्मक चार्ज हु्रन्छन् । खेलमा दुईओटा टिम हुन्छन् । किसानले दुध उत्पादन गर्छ । किसान र नियम–कानुन तथा उत्पादक शक्ति र उत्पादन सम्बन्ध विरोधी तत्त्व हुन् । यिनीहरूको बिचमा सामञ्जस्यता भएन भने समाजमा क्रान्ति आउँछ । श्रमिकले कारखानामा काम गरेनन् भने वा मालिकसँग द्वन्द्व भयो भने मालिकको नाफामा कमी हुन जान्छ । यसरी द्वन्द्ववाद सबै प्रकारको व्यवहारसँग जोडिएको हुन्छ ।
द्वन्द्ववादबारे माक्स÷एङ्गेल्सले भनेका छन्– “गुज्रिसकेका चरणबाट फेरि फेरि गुज्रिने तर भिन्न ढङ्गले, उच्चतर आधारमा गुज्रिने विकास निधेषको निषेध; सिधा रेखामा हैन, सर्पिल आकारमा हुने विकास, छलाङ, महाप्रलय र क्रान्तिद्वारा हुने विकास, निन्तरतामा क्रमभङ्ग, मात्राको गुणमा विकास, कुनै पिण्डमाथि वा परिघटनाभित्र अथवा कुनै समाजभित्र क्रियाशील विभिन्न शक्ति तथा प्रवृत्तिको पारस्परिक विरोध र विग्रहबाट प्राप्त हुने विकासका आन्तरिक आवेगहरू प्रत्येक घट्नाका सबै पक्ष हुनुको अन्तरनिर्भरता तथा घनिष्टतम अविलय सम्बद्धता, गतिको समरूप, नियमानुशासित, सार्विक प्रक्रिया प्रदान गर्ने सम्बद्धता ।”
राष्ट्रिय जनमोर्चाले जुन कार्यनीति अपनाउँदै आएको छ, त्यो नीति अवसरवादी नभएर द्वन्द्ववादी वा द्वन्द्वात्मक भौतिकवादमा आधारित नीति भएको कुरा दिनको घाम झैँ छर्लङ्ग छ । यस प्रकारको नीतिको विरोध गर्नु भनेको द्वन्द्ववाद र अवसरवादलाई छुट्याउन नसकेको वा छुट्याउन नखोजेकोबाहेक अरू केही होइन ।
यस प्रकारको बिशेषता नै द्वन्द्ववाद हो ।
अब अवसरवाद के हो भन्नेतर्फ अगाडि बढौँ ।
अवसरवाद मौकापरस्त विचार हो । यो स्वयम्मा अवसरवादी छ । “ताक परे तिवारी नत्र गोतामे” प्रवृत्ति, पदलोलुपता, महत्त्वाकाङ्क्षा, अवसर तथा आफूलाई फाइदैफाइदा तर अरूलाई नोक्सानैनोक्सान । आफ्नो झोलितुम्बा भर्नैपर्ने, अरूलाई जेसुकै होस् । “आफ्नो टाउको फुटेमा मितको टाउको बेलैसरि” । जताबाट जसरी भए पनि आफूलाई मात्र हुनुपर्ने, आफ्नो दुनो सोझ्याउने काम । कुनै वडाअध्यक्ष, गाउँ वा नगर प्रमुख, प्रदेश वा केन्द्रका सभासद, मन्त्री वा प्रधानमन्त्री आफू बन्नैपर्ने प्रवृत्ति । पार्टीमा त्यसको अध्यक्ष वा महामन्त्री आफू मात्र हुनैपर्ने, अरू कोही भएमा उसलाई मान्य नहुने किनकि आफू अघि हुनैपर्ने । गाउँ, समाजमा सबैभन्दा धनी, महाजन वा सर्वाेपरी सम्पन्नता तथा राजा–महाराजा आफू हुनुपर्ने, अरू भएमा नहुने प्रवृत्ति । राम्रो काम वा अध्ययन गरेर योग्यता हासिल गर्ने, प्रतिस्पर्धा गरेर अब्वल दर्जामा आउने हैन कि “एनी हाउ” जस्तो भए पनि आफै अगाडि जाऊ । यस्तो सोचाइ नै अवसरवाद हो ।
द्वन्द्ववाद र अवसरवादको सिद्धान्तबारे सामान्य चर्चा गरिससक पछि अब नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चाले जुन नीति अपनाउँदै आएको छ, त्यो द्वन्द्ववाद हो वा अवसरवाद ? यसबाले छोटोमा विश्लेषण गरौँ ।
२०४६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध अर्थात् बहुदलीय व्यवस्थाका निम्ति वाममोर्चाका साथै नेपाली काङ्ग्रेससँग मिलेर लड्ने नीति अवसरवादी हो त ? होइन । सही हो भने २०५२ सालको माओवादी युद्ध जनयुद्ध नभएर कथित जनयुद्ध हो भन्ने व्यवहारबाट प्रमाणित भएन र ? उक्त युद्धबाट नेताका लागि जे उपलब्धि प्राप्त भए पनि उत्पीडित जनताका लागि त्यसको परिणाम के भयो ?
२०४६ सालको संविधान कालो भनिएकोमा के २०५९ सालको शाही घोषणाले प्रमाणित गरेन र ? २०६२–६३ सालमा नेपाली काङ्ग्रेससँग फेरि संयुक्तमोर्चा गर्नुपर्यो कि परेन ?
सङ्घीयता नेपालले धान्दैन भनेको कुरा सही हैन र ? भारतले नाकाबन्दी लगाएका बेला त्यसका विरुद्धमा केपी ओलीले अपनाएको नीतिलाई समर्थन र सहयोग गर्नु गल्ती हो त ?
संसदलाई दुई दुईपटक विघटन गर्ने, २०७२ सालको संविधानलाई नमान्ने, मोनोपली मात्र गर्ने ओलीको पछिल्लो कदम प्रतिगमन भएर अग्रगमन हो त ? होइन भने त्यसका विरुद्ध संविधान, गणतन्त्र र धर्म निरपेक्षताका निम्ति नेपाली काङ्ग्रेससहितका सँग सहकार्य गर्नु गलत हो कि परिस्थितिको बाध्यता ?
यस प्रकारको सही, वस्तुनिष्ठ वा देश र जनताको हित अनुकूल नीति अपनाउनु राष्ट्रिय जनमोर्चाको लिएको नीति कति सही वा यथार्थ छ ? यस प्रकारको नीति अपनाउने नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चाको नीति द्वन्द्ववादी नभएर अवसरवादी हो भनेर पुष्टि गर्ने कसैको तागत छ ?
नेकपा (माओवादी) र एमाले मिलेर बनेको त्यति ठुलो पार्टी आज किन धुजाधुजा भयो ? सही नीति अपनाएर देश र जनताको पक्षमा दृढतापूर्वक अगाडि बढेको भए, २०७२ सालको संविधानअनुसार काम गरेर संसद् भङ्ग गर्नेतर्फ नलागेको भए किनारामा बसेको काङ्ग्रेसको सरकार कसरी बन्न सक्थ्यो ? आफ्नो बलियो सरकार फ्याँकेर अहिलेको सरकार आउनुमा ओली नेतृत्वको सरकार नै जवाफदेही हैन र ?
यस प्रकारको अवस्थामा राष्ट्रिय जनमोर्चाले संयुक्तमोर्चाको जुन नीति अपनायो, त्यो सही, वस्तुपरक र द्वन्द्ववादी छ । राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका निम्ति अपनाएको यो नीति सही, वास्तविक र वस्तुपरक छ ।
२०७२ सालको संविधानको विरुद्ध उभिएको साम्राज्यवादी भारत, अमेरिका र युरोपियन युनियनसँग मिलेर सामन्त गोयलको सल्लाहमा संविधान च्यातचुत पार्ने र संसद्लाई नै दुई दुईपटक विघटन गर्ने केपी ओलीको सरकार तथा प्रतिगमनको विरुद्ध खडा हुने नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग मिलेर जानुको विकल्प के थियो त ? कि संयुक्तमोर्चा वा कार्यगत एकता कहिल्यै गर्नै हुँदैन भन्नुपर्यो । हैन भने विकल्प त्यही नै हो ।
यसरी राष्ट्रिय जनमोर्चाले जुन कार्यनीति अपनाउँदै आएको छ, त्यो नीति अवसरवादी नभएर द्वन्द्ववादी वा द्वन्द्वात्मक भौतिकवादमा आधारित नीति भएको कुरा दिनको घाम झैँ छर्लङ्ग छ । यस प्रकारको नीतिको विरोध गर्नु भनेको द्वन्द्ववाद र अवसरवादलाई छुट्याउन नसकेको वा छुट्याउन नखोजेकोबाहेक अरू केही होइन । यसलाई अर्काे शब्दमा भन्नुपर्दा द्वन्द्ववादलाई राम्ररी बुझियो भने राष्ट्रिय जनमोर्चाको नीति बुझ्न गाह्रो हुने छैन । द्वन्द्ववादी नीति यही हो ।



