नेपाली सेनाबारे आरजुको गम्भीर टिप्पणी : गोप्य सूचना र तथ्यांकहरु टर्की पुग्दो रहेछ

 

 

ललितपुर – नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन्।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताइन्।

राणाले नेपाली सेनाका डेटा (तथ्यांक) हरु टर्की पुग्ने गरेको जानकारी आफूले पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन्।

उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उल्लेख गरिन्।

हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारको काममा आईटी क्षेत्रका विद्यार्थीहरुले थप अध्ययन गर्न आवश्यक रहेको बताइन्।

‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरुको सबै इमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ। त्यसैले हामीले साइबर सेक्युरिटीलाई पनि कसरी हेर्ने?’, उनले भनिन्, ‘रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो। साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ। सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ।’- नेपाल खबर