जथाभावी मुद्दा हाल्दै जाने हो भने शान्तिप्रक्रिया उल्टिन्छः गजुरेल

spot_img

 

काठमाडौं, २४ फागुन । नेकपा (माओवादी क्रान्तिकारी) का वरिष्ठ नेता सीपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नो पार्टीबीच एकता हुने स्थितिमा नरहेको बताएका छन् ।

‘कुनै समय हामी एउटै पार्टीमा थियौं । हामी त्यसलाई अस्वीकार गर्दैनौं । तर अहिले हामी धेरै टाढा पुगिसकेका छौं । प्रचण्डजी सरकारमा हुनुहुन्छ, हामी सडकमा छौं । हामी अहिले एकै ठाउँमा आएको पार्टी एकताका निम्ति होइन । शान्तिप्रक्रियामा समस्या आउने देखिएपछि माओवादी धारका आठ दलबीच हिजो संयुक्त विज्ञप्ति जारी गर्नेसम्म अवस्था बन्यो, उनले पार्टी एकतामा केही पनि प्रगति नभएको औंल्याए ।

संक्रमणकालीन न्यायको विषयलाई फौजदारी कानुन लगाउँदा शान्ति प्रक्रिया उल्टिने अवस्था आएको पनि गजुरेलले बताए । उनले भने, ‘द्वन्द्वकालमा हजारौं घटना भएका छन् । ती संक्रमणकालीन न्यायका मुद्दामा फौजदारी कानुन लगाएर सजाय गर्दा त शान्ति प्रक्रिया त उल्टिने भयो नि । देशमा शान्ति कायम गर्न विस्तृत शान्ति सम्झौता भएको हो । यो माओवादीको मात्र होइन, सबैको चासोको विषय हुनुपर्छ ।’

विगतमा आफूहरुले शान्ति प्रक्रियालाई उचित निष्कर्षमा पुर् याउन दिएको दबाब काम नलागेको पनि गजुरेलको टिप्पणी छ । उनले भने, ‘बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगले समयमै काम गरेनन् । हामी डेलिगेसन पनि गयौं । उहाँहरुले निरीहता प्रकट गर्नुभयो । स्टाफ छैन, खर्च छैन, सरकारले कानुन बनाएर दिएको छैन भन्नुभयो । यो ढिलाइले पीडित पक्षलाई दुःखकष्ट हुने नै भयो । यस्तै हुँदा शान्ति प्रक्रिया डिरेल हुने खतरा बढ्यो । फेरि द्वन्द्व बढ्ने भयो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच हजार हत्याको जिम्मा लिन्छु भन्न नमिल्ने पनि गजुरेलले औंल्याए । उनले भने, ‘हामीले संख्याको हिसाब गरेका छैनौं । केही वर्षअघि प्रचण्डजीले सार्वजनिक सभामै पाँच हजारको जिम्मा लिन्छु भन्नुभयो । उहाँ जतिको मानिसले विचार गरेर बोल्नुपर्ने हो । यस्ता कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्छ ।’

-आर एन