

-राम कुमार श्रेष्ठ
नवलपुर – माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले देश अदृष्य शक्तिले चलाएको बताएका छन् । शनिबार प्रेस सेन्टर नवलपुरको साधारण सभाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले हाम्रै पार्टीका अध्यक्ष कम्रेड प्रधानमन्त्री हुनुहुन्छ, तर देश अरुले नै चलाएको छ,’ उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीनैजना नेताहरु देश नेपालकै राजनीतिक दलले चलाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तर त्यसो हुन सकिरहेको छैन ।’

सरकारले जनताको पक्षमा काम गर्न नसकिरहेकाले पत्रकारहरुले खबरदारी गर्नुपर्नेमा प्रवक्ता महराले जोड दिए । अहिले देशमा बन्दुक नै उठाउने बेला नभए पनि बन्दुकजस्तै अर्को शक्तिशाली चिज ‘कलम’ उठाउनुपर्ने बेला भएको टिप्पणी गरे । पत्रकार सधैं सरकारको प्रतिपक्ष हुने भएकाले सोहीअनुसार कलम चलाउन पनि उनले आग्रह गरे ।नयापत्रीकाले उल्लेख गरेको छ।





