सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ।

सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो। “अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगराैँ, मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “कोभिड-१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ।”

मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ। अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको छ।

मन्त्रालयले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ। कोभिड-१९ महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ।

शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढिरहेको छ। चैत २० गते मात्रै ७६ जनामा नयाँ सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २७ पुगेको छ।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ।

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।