

काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलले मुलुकलाई शान्ति, समृद्धि र सुशासनको बाटोमा लैजाने शान्तिप्रक्रियालाई छिटोभन्दा छिटा टुंगो लगाउनुको अर्को कुनै उपाय नभएको बताएका छन् ।

‘शान्तिप्रक्रियालाई टुंगो लगाउने कुरा सत्तापक्ष वा प्रतिपक्षको भन्दा पनि साझा विषय हो । यसमा माओवादी मात्र नभएर नेपाली सेनालगायतको सुरक्षा निकाय, राजनीतिक दलहरु र अन्तर्राष्ट्रिय समुदाय पनि जोडिएको छ । गम्भीर प्रकृतिका मानवअधिकार हननमा छानबिन हुनुपर्छ भन्नेमा दुई मत छैन । तर छानबिन गर्दा पीडित पक्ष भनेको हामी र हाम्रा साथीहरु छन् । पीडक र पीडित पहिचानका लागि कानुन चाहिन्छ नि, पौडेलले भने ।

यसै सदनबाट टीआरसी विधेयक पारित गर्न सहमति जुटाउन अधिकतम प्रयत्न गरिने पनि उनले बताए । पौडेलले भने, ‘एमालेका साथीहरुले विधेयकलाई समितिमा लैजानुपर्छ भन्नु भनेको लिङरिङ गर्न खोज्नु हो । हामी यही सदनबाट फास्ट ट्रयाकबाट पारित गर्ने पक्षमा छौं । सकेसम्म सहमतिमा नभएर अधिकतम बहुमत जुटाएर अघि बढ्छौं ।’

सत्ता गठबन्धनको सेटलमेन्ट भइसकेको दाबी गर्दै उनले सरकार पाँच वर्ष टिक्ने वातावरण बनेको पनि उनले बताए । पौडेलले भने, ‘विकास र समृद्धि र सुशासन कायम गर्ने भन्ने कुरा बटन दबाएर बिजुली बालेजस्तो होइन । यसको कोसिस हुँदैछ । पाँच वर्षका निम्ति गठबन्धनलाई राजनीतिक रुपमा जोगाएर करिब करिब सेटेलमेन्ट भएकाले अब मुलुक अघि बढ्ने अवस्था बनेको छ ।’ रिपोर्टस नेपालले उल्लेख गरेको छ।





