

काठमाडौं– तनहुँ क्षेत्र- १ का रास्वपा उम्मेदवार डा स्वर्णीम वाग्लेले आफ्नो मन्त्रिमण्डल पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मन्त्री बाँड्दै हिँडेको आरोप लगाएका छन्।

बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ क्षेत्र- १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन जिताएर पठाए आफूले मन्त्री बनाउने घोषणा गरेका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई खण्डन गर्दै वाग्लेले चितवनमा भएको चुनावी सभालाई बिहीबार सम्बाधोन गर्दै उक्त कुरा बताएका हुन्।

‘प्रधानमन्त्री तनहुँमा हेलिकोप्टर लिएर आउनुभएको छ। प्रधानमन्त्री मन्त्री पद बाँड्दै हिँड्नुभएको छ। स्वर्णीम वाग्लेलाई हराऊ म मन्त्री बनाउँछु भन्नुभएको छ,’ वाग्लेले भने,‘ अहिले भइरहेको मन्त्रिमण्डल पनि पूरा गर्न नसकेका व्यक्तिले मन्त्री बाँड्दै हिँडेर लोकतान्त्रिक अभ्यासको खिल्ली उडाउनु त्यति राम्रो हैन।’
प्रधानमन्त्रीमा नियुक्त भएको करिब ४ महिना पुग्दा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।





