

काठमाडौँ– सरकारले आन्दोलनरत महावीर पुनसँग छलफल गरेको छ। आइतबार सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग पुनको छलफल भएको हो। सरकार र पुनबीच वार्ताबाट माग टुंग्याउने सहमति भएको छ।

सरकारले माग सम्बोधन गरिदिनेमा पुन सकरात्मक र आशावादी छन्। सरकार र पुन दुवैपक्षबाट वार्ता समिति गठन गरेर सकेसम्म आजै साँझ र नभए भोलिसम्म समस्या समाधान गर्ने सहमति भएको हो।

मन्त्रीसँगको भेटपछि पुनले सञ्चारकर्मीसँग भने,‘छलफलमा बसेर अब कसरी अघि बढ्ने भनेर निर्णय गर्यौँ,आज बेलुका पाँच बजेभित्र वार्ता टोली गठन गरेर सकेसम्म आजै रातिसम्म र नभए भोलि वार्ता गरेर आन्दोलनको माग पूरा गर्ने सहमति भएको छ। रक्षामन्त्रीसँग वार्ता गर्दा गर्दै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई पटक फोन गर्नुभयो। अहिलेसम्म सकरात्मक हुने देखिएको छ। भोलि कागजमा हुँदा कस्तो हुन्छ त्यतिबेला नै कुर्नुपर्ने हुन्छ।’

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। उनको आन्दोलनलाई नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एसलगायतका नेताले समर्थन गरेका छन्। पुनले आन्दोलन थालेयताका रात पनि माइतीघर मण्डलाको सडकमै बिताएका छन्।







