

काठमाडौँ- नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ । शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रस्ट्याएका हुन् ।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने बताएको पनि पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका थिए ।

उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरूलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको पनि बताएका थिए ।

ओलीको भनाइ उदृत गर्दै प्रचार उपप्रमुख रिजालले भने, ‘हिजो देखि एउटा हल्ला चलाइएको छ–नेकपा एमालेका चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो । नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो । अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरू चलेका छन । यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रूपमा खारेज गर्नु भएको छ । ’
बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ । जसमा कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ ।इकागजले उल्लेख गरेको छ ।








