महामन्त्री पद गए जाओस्, पार्टी सुध्रिए कार्यकर्ता भएर बस्न तयार छु- महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पद धरापमा परे पनि पार्टी सुधारको अभियानमा होमिने उद्घोष गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा महामन्त्री थापाले पार्टी सुधारको काम गर्दा पद गए आफू साधारण सदस्य भएर बस्न तयार रहेको बताए ।

1

“म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दैगर्दा महामन्त्री गए जाओस्,” महामन्त्री थापाले भने, “म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे तयार छु ।”

उनले तत्कालको काम पार्टीका नेता कार्यकर्तालाई निराशाबाट बाहिर ल्याउनुपर्ने भन्दै त्यसका लागि सबैको साथ चाहिएको बताए । कांग्रेसमा लागेको रोग निको पारे नयाँ/पुरानाले असर गर्दैनन् ।

1

महामन्त्री थापाले पार्टीभित्रको रोगविरुद्ध लड्न सबै एक जुट हुन आह्वान गरेका छन् । पार्टी सुधार गरे कांग्रेसप्रतिको भरोसा नटुटने र नयाँ/पुराना दलले असर पनि नगर्ने उनको भनाइ छ ।

“गलत निर्णय गर्न पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन,” महामन्त्री थापाले भने, “जब पार्टीभित्र हाम्रो बेगलाई कसैले रोक्दैन, नयाँ पुराना कोहीसँग डराउन पनि पर्दैन ।”

उनले पार्टीभित्रको रोगको उपचार समयमा हुन नसक्दा भने त्यसले पार्टीलाई कमजोर पार्ने बताए । त्यहीकारण पार्टीभित्रको रोग चाँडो निको पार्न सबै एकजुट हुनुपर्ने बताए ।

“पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ,” थापाले भने, “सबै नेता र कार्यकर्ताले अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ ।”

Nepal Telecocme