
काठमाडौँ — बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै बैठक स्थगित भएको जानकारी दिइन् ।

६९ वर्षीय दाहालको उपचारका क्रममा बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

पार्टी नेताहरूकै चर्को दबाबपछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक वर्षपछि बुधबारका लागि डाकिएको थियो । यसबीच भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा केन्द्रीय कार्यसमिति छल्दै विधिविधानबमोजिम पार्टी नचलाएको, संगठन शिथिल पारेको र पार्टीलाई सत्ता राजनीतिमा मात्रै प्रयोग गरेर वैचारिक धार कमजोर बनाएको लगायत आरोप सभापति शेरबहादुर देउवालाई लाग्दै आएको छ ।




