श्रीलंका भ्रमण सकेर चिनियाँ नेता युआन च्या च्युन आइतबार काठमाडौं आउँदै

1

काठमाडौँ — अमेरिकाका मध्य तथा दक्षिण एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेको एक सातामै उत्तरी छिमेक चीनबाट पनि उच्च तहको राजनीतिक भ्रमण हुने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले आइतबारदेखि तीनदिने भ्रमण गर्ने भएका हुन् । गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि चीनबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो । युआन चीनका ठूलो र शक्तिशाली सहरहरूमध्ये एक छोङछिङ सहरको प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै आइतबार काठमाडौं उत्रनेछन् ।

रकेट वैज्ञानिक युआन सीपीसीको छोङछिङ नगर कमिटीका सचिव हुन् । सचिव उक्त सहरको पार्टी प्रमुख हुने प्रावधान छ । युआन सीपीसीका २४ केन्द्रीय पोलिटब्युरो सदस्यमध्ये एक हुन् । ७ जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहका रूपमा पोलिटब्युरोलाई लिइन्छ । सीपीसीको सन् २०२२ मा भएको २० औं जनकंग्रेसले युआनलाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको थियो । उनी त्यसअघि सीपीसीको केन्द्रीय सदस्य थिए । उनी राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र हुन् ।चिनियाँ टोली श्रीलंका भ्रमण सकेर नेपाल उत्रन लागेको हो ।

1

युआनले नेपालमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सभामुख देवराज घिमिरेलाई पनि भेट्नेछन् । युआनले केही मन्त्री, नेतासँग पनि भेटवार्ता गर्न सक्ने परराष्ट्रका एक अधिकारीले बताए । भेटवार्ताको समन्वय गर्न नेपालस्थित चिनियाँ दूतावास, परराष्ट्र मन्त्रालय र राजनीतिक दलहरूबीच गृहकार्य भइरहेको छ ।युआनको भ्रमणमा प्रम दाहालको चीन भ्रमणबारे पनि छलफल हुन सक्ने बताइएको छ ।

प्रम दाहाल भदौ अन्त्यतिर चीन जाने गृहकार्यमा छन् । त्यसका लागि बेइजिङस्थित नेपाली दूतावास र परराष्ट्रले गृहकार्य गरिरहेका छन् । तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले पहिलो विदेश भ्रमण भारतको गरिसकेका छन् । उनी ‘युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्ट’ का लागि साउन ७ मा इटाली जाँदै छन् । त्यसअघि दाहाल र युआनबीच भेटवार्ता हुनेछ ।

ad