कांग्रेस बैठक ; खाणलाई पार्टीबाट निलम्बन गरेर अपराध अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने माग

1

काठमाडौँ — नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने विषय केन्द्रीय समिति बैठकमा प्रवेश गरेको छ । केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन बिहीबार बोल्ने नेताहरूले भ्रष्टाचारजस्तो गम्भीर अपराधमा अभियोग लागेका नेता खाणलाई पार्टीले आफ्नो सदस्यबाट निलम्बन गरेर अपराध अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने माग गरेका हुन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर पुर्पक्षका लागि कारागार चलान भएका खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने विषयमा कांग्रेसका पदाधिकारीहरू नै विभाजित छन् ।

1

महामन्त्री गगन थापासहित नेताहरूले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग गर्दा संस्थापन पक्षका नेताहरू भने खुलेआम खाणको बचाउमा उत्रिएका छन् । जसकारण सभापति शेरबहादुर देउवाले प्रभावशाली महामन्त्रीसहित नेताहरूले कारबाहीको प्रस्ताव ल्याउँदा समेत बेवास्ता गरेर टार्दै आएका छन् ।खाणलाई कारबाही गर्ने विषय केन्द्रीय कार्यसमिति बैठकमा छलफलको विषय बनाउने वा नबनाउने भन्ने विषयमै विवाद भएको थियो । सभापति देउवाले त्यस्तो प्रस्ताव ल्याउन अस्वीकार गरेपछि महामन्त्रीहरूले ल्याएको औपचारिक प्रस्तावमा त्यो विषय छैन । तर, बैठकको तेस्रो दिन भने बैठकमा खाणलाई कारबाही गरेर उनीमाथिको छानबिनमा सहयोग पुर्‍याउनुपर्ने माग उठेको हो ।

बिहीबारको बैठकमा नेताहरूले खाणको पक्ष र विपक्षमा हुने गरी विभाजित भएरै धारणा राखेका छन् । तर बिहीबारसम्म खाणलाई पार्टीबाट निलम्बन नै गर्नुपर्छ भन्ने स्वर कमजोर छ । केन्द्रीय कार्यसमितिका १५६ सदस्यमध्ये बिहीबारसम्म ७५ जनाभन्दा धेरै सदस्यहरूले बोलिसक्दा संस्थापन पक्षका नेताहरूले खाणको बचाउ गरेका छन् भने संस्थापनइतर पक्षका नेताहरूले कारबाही गरेर अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने माग गरेका छन् ।

ad