हतारमा रजिनामा माग्ने संस्कृति राम्रो हैन प्रधानमन्त्री दाहाल

1  काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उद्देश्यका निम्ति मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । शुक्रबार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरूलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताएका हुन् ।

ad

स्पष्टीकरणको मौका नदिइकन राजीनामा नदिए संसद चल्न दिन्नौँ भन्ने संस्कृति राम्रो नभएको उनको भनाइ छ ।

‘राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन । प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरण दिने मौका पनि नदिइ राजीनामा देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने यो राजनीतिक कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन,’ दाहालले भने । सुन प्रकरणका बारेमा उपप्रधानमन्त्रीहरू र मन्त्रीहरूसँग कुरा गरेपछि मात्र आफूले थप कुरा गर्ने पनि प्रधानमन्त्री दाहालले बताए ।

1

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्ग दर्शन भएको प्रधानमन्त्री दाहालले बताए । सम्मेलनका क्रममा बांग्लादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरु छलफल भएकोसमेत उनले बताए । बांग्लादेश सरकार नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न इच्छुक रहेको र आर्थिक अन्तरनिर्भरताका लागि यो महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले लम्पी स्किनका बारेमा छलफल गरी धेरै हदसम्म नियन्त्रण र उपचारमा लागिसकेको बताए । सरकारको लम्पी स्किनको निदानतर्फ सचेत रहेको पनि उनको भनाइ छ ।

ad