
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग नजिकिएको भन्ने सन्दर्भ उठाएर संस्थापनइतर समूहमा फाटो ल्याउन यस्ता कुरा आइरहेको प्रष्टीकरण दिएका छन्।१४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग प्रतिस्पर्धा गरे पनि संस्थापनइतर समूहको नेता हुन नसकेको आरोप कोइरालामाथि पछील्ला दिनमा लाग्दै आएको छ।

महामन्त्री गगन थापामाथि केन्द्रीय समितिमा सभापति देउवा समूहले गरेको ‘घेराबन्दी’ मा शेखर ‘मौन’ बसिदिएको आरोप उक्त समूहभित्रैबाट आइरहेको थियो।यसबारे शेखरले बिहीबार काठमाडौं प्रेस युनियनले गरेको पदस्थापना कार्यक्रममा मुख खोलेका छन्।


‘सभापति देउवासँग शेखर मिल्यो भनेर लेखिराखेका छन्, केमा मिल्यो मैले बुझ्न सकेको छैन,’ कोइरालाले भने, ‘सभापतिले बोलाउनुभएको बेला भेट्न गएको हुँ।’ उनले सभापतिले बोलाएका बेला मात्रै आफू भेट्न गएको र भेट्न आउँछु भनेर आफूले समय लिएर सभापति देउवालाई नभेटेकोसमेत प्रष्टीकरण दिए।

‘सभापतिले बोलाउनुभयो भने जानुपर्यो,’ उनले भने, ‘नबोलाई म आउँदैछु भनेर म जाने गरेको छैन, जान्न पनि!’सभापति देउवासँग केमा मिलेको हो खुलाइदिनसमेत उनले आग्रह गरेका थिए। ‘मिल्ने भनेको त एजेन्डामा होला, कतिपय विषयमा सभापतिजी तपाईंहरूका निर्णय गलत छन् भनेर मैले भनेकै छु, तपाईंहरू यसबारे लेखिदिनुहुन्न,’ उनले गुनासो गरे। गाली गर्ने स्वभाव आफूमा नभएको उनको भनाइ छ।
‘मलाई मेरो परिवारले केही संस्कार दिएको छ। गाली नगर, बरू गाली खाऊ, पचाऊ,’ उनले भने, ‘चित्त नबुझेका कुरा छन् भने बरू नबोल भनेका छन्।’

सभापति देउवासँग पहिले आफ्नो भेट हुने नगरेको पनि बताए। ‘पहिलेपहिले देउवासँग भेट गर्दैनथे, आजकल गर्छन् भन्ने कुरा पनि आएको छ। पहिले उहाँले बोलाउँदै बोलाउनुहुन्थेन त के भेट गर्ने?,’ उनले प्रश्न गरे, ‘बोलाएपछि त भेट्न जानुपर्यो, उहाँ सभापति हो।’




