
काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँग कुनै पनि प्रकारको तनाव नचाहेको बताएका छन् । तर छिमेकीबाट त्यस्तो व्यवहार भएको भन्दै ओलीले असन्तुष्टि जनाएका छन् ।एमालेको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठी ओलीले नेपालले छिमेकीहरूसँग तनाव नखोज्ने र नझेल्ने बताए ।
![]()

हामीले हाम्रा छिमेकीहरूसँग मित्रतापूर्ण ढंगले, स्पष्ट ढंगले हाम्रा न्यायोचित हितहरूको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नुपर्दछ । कुराकानी गरेर संवादको माध्यामबाट समस्या समाधान गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो देशले कुनै तनाव खोज्नै सक्दैन, झेल्नै सक्दैन । हामीले कहिल्यै भारतलाई, एक पटक पनि नाकाबन्दी गरेका छौं र ? एक पटक पनि गरेका छैनौं । चीनलाई हामीले नाकाबन्दी गरेका छौं ? तर भारतले त हामीलाई पटक-पटक गरेको छ ।’

नेपालको उत्तर र दक्षिणमा दुई ठूला छिमेको भएको र उनीहरूसँग ऐतिहासिक सम्बन्ध रहेको पनि ओलीको भनाइ थियो । दुवै छिमेकी सामान्यतयाः असल रहेको पनि उनले टिप्पणी थियो । मित्र राष्ट्रहरू भए पनि छिमेकमा भएपछि समस्या पैदा हुनसक्ने उनले बताए ।
‘सिमानाको समस्या गैर छिमेकीहरूसँग कहाँबाट हुन्छ ? अर्जेन्टिना, चिली वा जापानसँग हाम्रो कहाँको सीमासँग सम्बन्धित समस्या हुनु ? सीमा समस्या हाम्रो हुन्छ भने दुई छिमेकी देशसँग मात्रै हुनसक्छ, भारत र चीन । किनभने यिनीहरूसँग मात्रै सीमा जोडिएको छ । यिनीहरूसँग मात्रै हुँदाखेरी यो समस्या हुनसक्छ । नहुँदा नहुने कुरा हो,’ उनले भने, ‘हामीले हाम्रा छिमेकीहरूलाई खुलस्त कुरा गरेर, हामीले हाम्रा छिमेकी मित्र भन्दछौं, छिमेकी मित्र हुन् । एक त छिमेकी, जो बदल्न, सार्न सकिँदैन । अर्को, मित्र । अनि, मित्रसँग हामी बोल्न सक्दैनौं । आफ्ना मर्का राख्न सक्दैनौं । आफ्ना जायज हित बोल्न सक्दैनौं भने त्यस्तो सत्ताको के अर्थ भयो, सरकारको के अर्थ भयो ? कुरा गर्न सकिँदैन भने डेलिगेशनमा जानुको के अर्थ भयो ? किन जाने डेलिगेशन, यदि कुरै गर्न सकिँदैन उनले भने।’






