

काठमाडौं । सुन तस्करी प्रकरणमा छानविनको माग गर्दै एमालेले आज शुक्रबारको प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो । एमालेले उक्त प्रकरण छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ । एमालेले सो माग राख्दै साउन १० यताका संसद बैठक सभा बैठक अवरोध गर्दै आएको छ ।

समिति गठन नभएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ । उच्चस्तरीय समितिको माग गर्दै दुई सातादेखि संसद बैठक चल्न नदिँदा संसदमा आम जनताका जल्दाबल्दा समस्याका विषयमा छलफल हुन सकेको छैन ।

सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुुसन्धानको प्रक्रिया अघि बढाइसकेको अवस्थामा सरकार उच्च स्तरीय समिति बनाउन तयार देखिएको छैन भने एमाले समिति बनाउनै पर्ने अडानमा छ । एमालेले आफ्ना माग राखेर राष्ट्रिय र प्रतिनिधि सभाको बैठक प्रभावित बनाउदै आएको छ । एमालेका सांसदहरुले नारावाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अर्काे बैठक साउन २९ गते सोमबार १ बजे बस्नेगरी स्थगित गर्नुभयो ।







