
नेपाली कांग्रेसको पहिलो चरणको आन्तरिक संगठन सुदृढीकरण अभियान सकिएको छ । साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्ययोजनाबमोजिम कांग्रेसले पहिलो चरणको १० दिने आन्तरिक संगठन सुदृढीकरण अभियान सम्पन्न गरेको हो ।२० साउनदेखि मंगलबारसम्म चलेको अभियानअन्तर्गत ७७ जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रसम्म कांग्रेसका केन्द्रीय नेताहरु पुगेर संगठनको अवस्थाबारे जानकारी लिएका छन् ।

उनीहरुले पार्टी, भ्रातृ संस्था, शुभेच्छुक संस्था र जनप्रतिनिधिहरुलाई भेटेर पार्टी संगठनबारे सशक्तिकरण र परिचालन गरेका छन् । सहमहामन्त्री जीवन परियारले पार्टीको संगठन सुदृढिकरणका लागि पहिलो चरणको १० दिने विशेष आन्तरिक अभियान मंगलबार सकिएको बताए ।
‘यो अभियानले जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, स्थानीय तह, वडा र टोल तहसम्म पार्टीको संगठनको अवस्था के छ ? भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अवस्था के छ भनेर जानकारी लिने, समस्याको पहिचान गर्ने काम भएको छ,’ सहमहामन्त्री परियारले भने, ‘अहिले त्यही अभियानको प्रतिवेदनहरु बुझ्ने काम सुरु हुँदैछ ।’

कांग्रेसले अभियानका लागि १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको थियो । सहमहामन्त्री परियारका अनुसार प्रतिनिधिहरुलाई आफ्नो क्षेत्रका विषयमा लिखित प्रतिवेदन बुझाउन भनिएको छ । ‘प्रतिनिधिका रुपमा खटिएका नेताहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनुहुन्छ, त्यसपछि देशभर पार्टीको अवस्था कहाँ कस्तो छ भन्नेबारे केन्द्रीय कार्यालयमा अपडेट हुन्छ,’ उनले भने, ‘त्यसले पार्टीको हालको अवस्था के हो ? समस्या के छन् ? भन्ने पहिचान हुन्छ ।’

आन्तरिक अभियानको समीक्षापछि अर्को चरणको संगठन सुदृढीकरण अभियान प्रारम्भ हुने उनले बताए ।कांग्रेसले यसपटक पहिले नै एक वर्षसम्मको कार्ययोजना बनाएर गतिविधिको प्रारम्भ गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले प्रस्तुत गरेको कार्ययोजनामा नेताहरुको सुझावबमोजिम कार्यक्रमहरु थपघट गरी अन्तिम कार्ययोजना तयार भइरहेको सहमहामन्त्री परियारले बताए




