फाइल फोटो


प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संसद्को अवरोध राजनीतिक दलहरूको मिलेमतोमा भएको हो भन्ने जानकारी हुन आएको बताइन् ।संघीय संसद् सचिवालयले आयोजना गरेको ‘संसद्-सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा उनले भनिन, ‘संसद् अवरोध राजनीतिक दलहरू मिलेर गरेको हो भन्ने जानकारी भयो ।’

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको बताए । संसद्मा अवरोध गरेर भन्दा पनि आएका विषयमा संवादको खाँचो रहेको उनको धारणा थियो । ‘सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवादमात्रै हो । अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ,’ उनको टिप्पणी थियो ।

सांसदहरूले आफ्ना कुरा राख्न पाउनुपर्ने र संसद्मा हुन गतिविधिलाई मतदातामाझ लगेर थप छलफल एवं बहसको लागि वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाका बैठक साउन महिनाभर अवरुद्ध रहेको अवस्थामा उपसभामुख राना र पूर्वप्रधानन्यायाधीशको यस्तो टिप्पणी आएको हो । एमालेले साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अवैध सुन बरामद सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ ।




