

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले संघीयता देशका निम्ति आवश्यक नभएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरूलाई आग्रह गरे । नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी राप्रपाले गर्ने उनले बताए ।


‘यो अभ्यासको डेढ दशकभन्दा बेसी समयले बतायो– संघीयता देशको लागि आवश्यक चिज होइन । अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्ने कुरा तपाईंहरूलाई पनि थाहा छ । त्यसकारण रक्तपातबिना, दबाबबिना, तपाईंहरूले भाग्नुपर्ने परिस्थिति नआईकनै सल्लाह गरेर मिलाऊँ । र, बाटो फेरौँ । र, नयाँ सहमति बनाऔँ ।’


उनले थपे, ‘राप्रपा अब यो देशको नागरिकको सुरक्षाका लागि, देशको पहिचानको रक्षाका लागि सर्वांगीण रूपमा भन्ने हो भने निजी क्षेत्रको सुक्षाको लागि, देशको अर्थतन्त्र सुधारमा होस् वा हाम्रो जीवनकालमै देशमै गरिखाने वातावरण बनाउन होस्, अब हामी अघि बढ्छौँ । राप्रपा पार्टीले अब नेतृत्व गर्छ । त्यसका लागि सबै साथी तयार र सक्रिय हुन आग्रह गर्छु । संगठन बनाउँदै जाने र दसैँतिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी अघि बढ्छौँ । चुप लागेर बस्ने छुट र सुविधा छैन ।’
-एनपी










