
रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको व्यवस्थाबाटै अवस्था परिवर्तन गर्ने भन्ने नयाँ दलको धारणा गलत भएको दावी गरेका छन् ।


व्यवस्थामै त्रुटी रहेकोले रवि लामिछाने सरकारको नेतृत्वमा आए पनि अहिलेको समस्या समाधान नहुने उनले तर्क गरेका छन् ।
रोल्पाको माडी गाउँपालिकाको घर्ती गाउँमा आज (आइतबार) आयोजित कार्यक्रममा विप्लवले अहिलेकै व्यवस्थाबाट जनताको अवस्था परिवर्तन गर्ने भन्ने कुरा जनतालाई फेरि अँध्यारो सुरुङमा राख्न खोजे जस्तै हुने बताए । ‘व्यवस्थामै त्रुटी छ, शेरबहादुर देउवा, केपी शर्मा ओली या प्रचण्डलाई उछिट्याएर रविजी आएर समाधान हुँदैन’ उनले थपे, ‘व्यवस्था ठीक छ, अवस्था परिवर्तन गर्ने कुरा फेरि जनतालाई अँध्यारोमा राख्ने काम हो ।’


विप्लवले हण्डर ठक्कर खाएर दुर्गा प्रसाईं राजतन्त्रको नारा लिएर सडकमा आए पनि त्यो एजेण्डा अब असान्दर्भिक भइसकेको बताए । ‘नेपाली जनतालाई झोक चलेको भरमा कोही दुर्गा प्रसाईंसँग हिँडे पनि नेपालमा फेरि राजतन्त्र फर्किने कुरा सम्भव होइन, नेपाली जनताले चाहेको समाधान त्यो होइन’ उनले भने । – एनपी








