
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानमा छन् । सोही क्रममा अध्यक्ष ओलीले पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला पुगेर उनलाई फोन सम्पर्क गरेका छन् ।

आज (शुक्रबार) बिहान सामाजिक सञ्जाल फेसबुककमा एक भिडियो शेयर गर्दै उनले देउवासँग गरेको कुराकानी जानकारी गराएका हुन् । ‘सुन्दर डडेलधुरा !! मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो । धन्यवाद शेरबहादुरजी ! (सचिवालयले गुडविल कलका रूपमा यसको भिडियो पनि बनाएको रैछ । त्यसैले यसलाई पोष्ट गरेको छु ।)’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् । सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छन । देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन् ।




